काठमाडौंका नवनिर्वाचित मेयर साहको धन्यवाद र्‍‍याली

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका छन् । शुक्रबार बिहान प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगबाट मेयरमा निर्वाचित भएपछि साहले प्रमाणपत्र लिएका थिए । त्यसपछि उनका समर्थकहरुले उनी मेयरमा निर्वाचित भएकोमा उनको टिम र समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका हुन् । मतदान गर्ने सबैलाई धन्यवाद दिन उनको टिमले मेयर साहलाई काठमाडौंका मुख्य मुख्य सडकहरुमा परिक्रमा गराउँदै छ ।

नवनिर्वाचित मेयर साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । 'आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं,'साहले भने ।

काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 'हामी महानगरवासी सबै एकै परिवार हौं। हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु,'साहले भने ।

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।


प्रकाशित : जेष्ठ १३, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्