बझाङका किसानलाई आलुखेतीको चटारो [फोटोफिचर]

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाका किसान कतै आलु लगाउन जग्गा तयार पार्दै त कतै आलु खन्ने र बोरामा प्याकिङ गर्ने चटारोमा देखिन्छन् । केही फाँटहरु भने भर्खरै उम्रिएका आलुका बेर्नाले हरियाली बनेका । बजार क्षेत्रमा भर्खरै बारीबाट ल्याएका आलु र आलु बोरा ओसार्नेहरुका ताँती छ । बझाङका गाउँहरुमा यस्तै दृश्य जताततै देखिन थालेका छन् ।

केही वर्षअघिसम्म बाहिरी जिल्ला र भारतबाट वार्षिक ८० करोड रुपैयाँ बराबरको आलु आयात गर्ने बझाङ अहिले आलुमय भएको छ । चक्रिय प्रणालीमा आधारित आलुको व्यावसायिक खेती सुरु गरिएपछि तीन वर्षकै अवधीमा जिल्लाले आयात प्रतिस्थापनमात्रै गरेको छैन । बझाङको स्वादिलो आलु धनगढी, महेन्द्रनगर, चितवन र काठमाडौंका बजारसम्म पुग्न थालेको छ । समन्द्र सतहबाट ९१५ मिटरदेखि ७ हजार ३१ मिटरको उचाईमा फैलिएको यस जिल्लामा तराईदेखि हिमालसम्मको जलवायु रहेको कारण बाह्रै मास आलु उत्पादन सम्भव भएको हो । भुगोल हेरेर भदौ/असोजमा रोपेको आलु मंसिर/पुसमा खन्ने, मंसिरमा लगाएको आलु चैत्रमा खन्ने गरेर चक्रिय खेती सुरुवात गरेपछि बझाङका बजारमा आलु अभाव हुन छोडेको हो । यस्तै पुस/माघतिर लगाएको आलु वैशाख/जेठमा भित्र्याउने र फागुन चैत्रमा रोपेको आलु असारदेखि भदौसम्म निकाल्ने गरेर खेती गरेका कारण सबै मौसममा स्थानीय आलु उपलब्ध हुन सकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङका कुम्भराज रोकायाले बताए ।

‘बझाङमा लामो समय आलु भण्डारणका लागि कोल्ड स्टोरको अभाव छ तर यहाँको भूगोल र जलवायुले साथ दिएका कारण सधैं बजारमा ताजा आलु उपलब्ध हुने अवस्था बनेको हो,’उनले भने, ‘बेंसी क्षेत्र, तल्लो पहाड, उच्चपहाड र हिमाली क्षेत्रमा फरक-फरक मौसममा आलु उत्पादन हुने भएपछि हामीले लामो समय भण्डारण गरेर राख्नु पर्ने अवस्था छैन ।’२०७६ सालसम्म लेकाली भेगमा फाट्फुट्ट गरिने आलुखेतीलाई जिल्लाव्यापी बनाएर बझाङलाई आलुमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गगतको आलु जोन कार्यक्रम, कृषिज्ञान केन्द्र बझाङ र पालिकाहरुले किसानलाई प्रेरित गरिरहेका छन् । उन्नत बिउँ, प्रविधि, सिँचाई, अल्पकालीन भण्डारणको व्यवस्था र बजारिकरण लागि सरकारी निकायले अनुदान सहयोग गर्न थालेपछि जिल्लाभरका किसानहरु आलुखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

‘८/१० क्वीन्टल आलु नफलाउने परिवार त कुनै गाउँमा छैनन् होला,’बुङगल नगरपालिका दहबगरका किसान करसिङ जाग्रीले भने, ‘बढी जग्गा हुने र मेहनत गर्नेहरुले ३०/४० क्वीन्टलभन्दा बढी पनि फलाएका छन् ।’प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मात्रै यो वर्ष बझाङका विभिन्न पालिकाको ३० वटा वडामा ५ सय हेक्टर जमिनमा आलुखेती गर्ने किसानलाई सहयोग गरिरहेको र ३३ करोड मूल्यबराबरको ११ हजार टन आलु उत्पादन भइसकेको जनाएको छ । बीउ, प्रविधि, पूर्वाधारलगायत सहयोग गरेपछि आलु उत्पादकत्व वृद्धि भएको परियोजना प्रमुख सविता जोशीको भनाइ छ । हिमाली जिल्लाको चिसो वातावरणमा फलेको आलु स्वादिलो र कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगरिएकोले स्वास्थ्यलाई पनि फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टको भनाइ छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्