१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हिमालपारि ‘उज्यालो’ पाएपछि...[तस्बिरहरु]

शब्द तथा तस्बिर : अंगद ढकाल

चामे (मनाङ) — तीन दिनको पैदलमा पुगिने सिमान्तकृत गाउँ नारबाट जसोतसो आइपुगेकी ८४ वर्षीया छिरिङ कुन्जोप बिहीबार दिउँसो चामेको स्वास्थ्य चौकीमा निकै खुशी बनेर कुराकानी गरिरहेकी थिइन् । मोतीबिन्दुको उपचारपछि आफू सामुका गाउँले र आफन्तलाई प्रस्टै चिनेपछि उनले भनिन्— संसारै उज्यालो भयो ।

चामेको सामुदायिक आँखा केन्द्रमा मंगलबार र बुधबार आयोजित शिविरमा छिरिङ कुन्जोपजस्तै अरु ६४ जना आँखाका बिरामीहरु एकैचोटी खुशीले रमाए, सबैले तिलगंगा अस्पतालको सत्कार्यमा ताली पिटेर स्याबासी जनाए । गरिब एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणको नि:शुल्क आँखा उपचार गर्न स्थापित तेज कोहली एण्ड रुइत फाउन्डेशनका तर्फबाट आयोजित शिविरमा तिलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोग रहेको थियो । ‘हामीले आँखा उपचारको सहज पहुँच नरहेका केही जिल्लामा पालोक्रममा आँखा शिविर राख्ने निर्णय गरेअनुसार यसपटक मनाङ आएका हौं,’ तिलगंगा आाखा अस्पतालका कार्यकारी निर्देशक डा.सन्दूक रुइतले कान्तिपुरसँग भने । उनका अनुसार, तेज कोहली एण्ड रुइत फाउन्डेशनका तर्फबाट सोलुखुम्बू, रोल्पा, हुम्ला, गोर्खा, मुस्ताङलगायतका जिल्लामा नि:शुल्क आँखा शिविर राखिनेछ ।

चामे शिविर संचालनमा बिरामीका लागि आवतजावत तथा स्थानीय बसोबासको सौजन्य मनाङ, भ्राकावासी व्यवसायी कालु घलेले गरेका थिए । यसअघि तेज कोहली एण्ड रुइत फाउन्डेशनकै सहयोगमा गत चैतमा रामेछापको दोरम्बामा ३ सय जना बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिएको थियो । मनाङमा शिविर संचालन गर्नुअघि जिल्लाका थानचोक, ताल, ओडार, खाङसार, भ्राका, हुम्दे, नारसहितका १७ स्थानमा पूर्वपरीक्षण गरेर आँखा बिरामीको पहिचान गरिएको थियो । चामे शिविरमा डा.सन्दूक रुइत, डा.सागर रुइतले बिरामीको आँखा शल्यक्रिया गरेका थिए ।


प्रकाशित : जेष्ठ ११, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्