कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संसार हेर्ने धोको [फोटोफिचर]

शब्द/तस्बिर : आश गुरुङ

मनाङ — हिमाली जिल्ला मनाङमा मंगलबारदेखि २ दिने आँखा शिविर सुरु भएको छ । सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा संचालित शिविर बुधबारसम्म चल्नेछ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका १५ जना स्वास्थ्यकर्मी शिविरमा खटिएका छन् ।

डा. रुइतले मंगलबार ६२ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गरेका छन् । आँखा शिविरमा कहिल्यै आँखाको परीक्षण नगरेका विरामीहरु समेत उक्त शिविरमा आएको बताएका छन् । आँखा शिविरमा २ दिन हिँडेर दुर्गम नार्पाभूमिको नारगाउँदेखि समेत विरामी आएका छन् । सदरमुकाम चामे, तल्लो मनाङको नासों र माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाबाट आएका आँखाका विरामीले सेवा लिएका छन् । तिलगंगा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा संचालित शिविरमा करीब ८ सयजनाको आँखा परीक्षण गरिएको छ ।

परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका विरामीको आँखा शल्यक्रिया गरिएको तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले बताए । उनका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट समेत विरामी आएका छन् । चामेमा यस्तोखाले आँखा शिविर पहिलोपटक आयोजना भएको स्थानीयले बताएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्