कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ललितपुर महानगरमा परिणाम सार्वजनिक नहुँदै विजय जुलुस 

तस्बिर : इलिट जोशी/कान्तिपुर

ललितपुर — पाँच दलीय गठबन्धनबाट ललितपुर महानगरपालिका मेयरका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्रचार्यले विजय जुलुस मनाएका छन् । दुवै उम्मेदवारको जित सुनिश्चित भएपछि जावलाखेलमा मंगलबार साँझ विजय जुलुस मनाएका हुन् ।

तर मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरेको छैन । अधिकृतको कार्यालयका अनुसार मेयर/उपमेयर, २८ र २९ वडाको अन्तिम मत परिणाम घोषणना बाँकी छ । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा मंगलबार दिउँसो ३ बजेसम्म ८२ हजार ४० मतगणना भइसकेको छ । जसमा महर्जनले ४० हजार २ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८ सय १० मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बाबुराजा बज्रचार्यलाई पछि पार्दै नेकपा एमालेकी मञ्जली शाक्य बज्रचार्यले २४ हजार १ सय ३९ मत प्राप्त गरेकी छन् । बाबुराजाले १८ हजार ११ मात्र मत पाएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार महर्जनले ३ सय २६ मतान्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।


प्रकाशित : जेष्ठ १०, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्