१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तानियो रातो मच्छिन्द्रनाथको रथ

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथारोहण गरेको ४ दिनपछि रथ तान्न सुरु गरिएको हो । 

ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ ।

करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए । रथलाई जात्रा अवधिभर ललितपुरको टोल घुमाउने प्रचलन रहेको छ ।

सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिव दुई महिना मनाउने गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्