चुनाव प्रचारमा बालबालिका प्रयोग [तस्बिरहरू]

दिपेन्द्र बडुवाल

काठमाडौँ — मित्रवत् प्रतिस्पर्धाका लागि सत्ता साझेदार गठबन्धन दलबीच तालमेल नभएको रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्रका पालिकामा निर्वाचन आचारसंहिताविपरीत डिजे, बालबालिका, पोस्टर, पम्पलेट र ब्यानर प्रयोग गरेको पाइएको छ । निर्वाचन मर्यादित तुल्याउन आयोगले प्रचारमा बालबालिका प्रयोग र भड्किलो शैलीमा रोक लगाएको छ ।

सीमावर्ती क्षेत्रको यसको पालना छैन । उम्मेदवारबीच ‘कोभन्दा को कम’को शैलीमा प्रचार भइरहेको छ । यहाँका घर पोस्टरले छोपिएका छन् । चोकमा तुल, ब्यानर प्रशस्त छन् । चुनाव चिह्नअंकित टी-सर्ट छ्याप्छ्याप्ती देखिन्छन् । पोस्ट टाँस्न बालक प्रयोग भइरहेका छन् । सीमावर्ती पालिकामा आचारसंहिता उल्लंघनको होडबाजी देखिन्छ । यस्ता कार्यको नियमन देखिँदैन । चुनाव प्रचारमा डिजे प्रयोग बढेको छ ।

यहाँ उम्मेदवारपिच्छे विभिन्न बाजाहरूको प्रयोग भइरहेको छ । उम्मेदवारका बारेमा जानकारी दिन र भोट माग्न चोक र गाउँगाउँमा लाउडस्पिकर र साउन्डबक्स बजाउने गरिएको छ । रुपन्देहीका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, रोहिणी, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा यस्ता बाजाको प्रयोग धेरै पाइन्छ । स्थानीयका अनुसार प्रचारमा चर्को अवाजमा गीत नबजाउने उम्मेदवारलाई मतदाताले ‘कमजोर’ बताउने गरेका छन् । जसले गर्दा यहाँ ‘डिजे’ बजाउने होड देखिन्छ ।

यहाँ उम्मेदवारले भारतीय बजारबाट दैनिक ४/५ हजार रुपैयाँ भाडा तिरेर यस्ता लाउडस्पिकर र साउन्डबक्स ल्याएका छन् । प्रशासनले आचारसंहिताविपरीत जनाएर रोक लगाउने कोसिस गरे पनि सफल देखिँदैन । जिल्लाका अन्य क्षेत्रमा चुनाव प्रचार शान्त देखिन्छ । यहाँका पालिका ‘महोत्सवमय’ छन् ।


प्रकाशित : वैशाख २१, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्