२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

इद मुबारक

तस्बिर : इलिट जोशी

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) मंगलबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको हो । काठमाडौंको चर्चित जामे मस्जिदमा प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ । ‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ । रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको मुस्लिम अगुवा बताउँछन् ।रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।


प्रकाशित : वैशाख २०, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्