कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सिम्रौनगढको चुनावी सरगर्मी

तस्बिर : दीपक केसी

सिम्रौनगढ, बारा — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बारा जिल्लाका १६ स्थानीय तहमध्ये सिम्रौनगढलाई चुनाव लागिसकेकको छ । जिल्लाको दक्षिणपूर्वमा रहेको र छिमेकी भारतसँग सीमा जोडिएको यो नगरपालिका गत स्थानीय चुनावमा सबैभन्दा कम अन्तरले हार–जित निर्धारण भएको क्षेत्र हो । नेपाली कांग्रेसका विजयशंकर यादव ५ हजार १३५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लोसपा (तत्कालीन राजपा) का किशोरीप्रसाद कलवार (प्राप्त मत– ५ हजार ११५) जम्मा २० मतले पराजित भएका थिए ।

आसन्न चुनावमा पनि मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेदवारबीच हुन गइरहेको छ । यादव नेपाली कांग्रेसबाट र कलवार लोसपाबाट मेयरका लागि चुनावी मैदानमा उत्रिसकेका छन् । यादव नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणापत्र निर्माण समितिमा सदस्य थिए । करीब ३० हजार मतदाता रहेको सिम्रौनगढमा ११ वटा वडाहरू छन् । यी वडाहरूमा पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र लोसपाकैबीचमा हुँदैछ । सम्भवत: सबैभन्दा तीव्र प्रतिस्पर्धा भएर होला, बाराका अन्य नगरपालिकामा चुनावी प्रचार–प्रसार सुरु नहुँदै सिम्रौनगढमा राजनीतिक माहोल गर्माइसकेको छ । उम्मेद्वारी दर्ता लगत्तै हरेक दिन बजारका मुख्य–मुख्य क्षेत्रमा माइकिङसहित झण्डा फरफराउँदै मतका लागि आह्वान गर्ने समूह निस्किरहेका भेटिन्छन् । सडकभर तुल र पम्प्लेटहरू टाँसिएका छन् । साइकल, रिक्सा र यातायातका अन्य साधनमा चुनावी नारा, पर्चा, पम्प्लेट, झण्डा झुण्डाएर हिँडिरहेका भेटिन्छ ।

प्रतिनिधिसभामा क्षेत्र नं. १ अन्तर्गत पर्ने सिम्रौनगढबाट नेपाली कांग्रेसका उमाकान्त चौधरी सांसद् निर्वाचित छन् । यद्यपि यस क्षेत्र अन्तर्गतका दुवै प्रदेशसभामा कांग्रेसले जित्न सकेको थिएन । १ (क) बाट एमालेका त्रिलोकी चौधरी र १ (ख) बाट लोसपाका सरोज यादव विजयी छन् ।

१६ वटा स्थानीय तह रहेको बाराका दुई वटा उपमहानगरपालिका र एउटा नगरपालिकामा सत्तारुढ गठबन्धन बनेको छ । बाँकीमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । जितपुर सिमरा उपमहानगरपालिकामा मेयरमा गठबन्धनकातर्फबाट माओवादीका राजन पौडेल र उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाही उठेकी छन् । त्यहाँ एमालेले सरस्वती चौधरीलाई मेयरको टिकट दिएको छ । उनी अहिलेकी उपमेयर हुन् । भोला अधिकारी एमालेको उपमेयर उम्मेद्वार छन् ।

त्यस्तै कलैया उपमहानगरपालिकाको मेयरमा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका राजेशराय यादव र उपमेयरमा जसपाका प्रमोद गुप्ता उम्मेद्वार बनेका छन् । त्यहाँ एमालेले विनोद साहलाई मेयर र रौशन प्रवीणलाई उपमेयरमा उठाएको छ । प्रवीण मुस्लिम महिला हुन् । त्यस्तै निजगढ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन बनेको छ । मेयरमा नेपाली कांग्रेसका सुरेश खनाल र उपमेयरमा माओवादी केन्द्रका रविराज दंगाल उम्मेद्वार बनेका छन् । बाँकी १३ पालिकामा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभामा बाराका चार निर्वाचन क्षेत्रमध्ये हालको जसपाबाट दुई, लोसपाका एक र नेपाली कांग्रेसका एक सांसद छन् । त्यस्तै प्रदेशसभाका ८ सिटमध्ये जसपाका तीन, एमाले र लोसपाका समान दुई/दुई र माओवादीका एक सांसद निर्वाचित छन् । २०७४ को प्रतिनिधिसभा/प्रदेश सभा तथा स्थानीय चुनावमा देखिएको समीकरणमा अहिले धेरै नै परिवर्तन आइसकेको छ । दलहरू एकीकरण र विभाजनबाट गुज्रिएका छन्, त्यसको प्रत्यक्ष प्रभाव बारामा पनि परेका कारण स्थानीय तहको आगामी निर्वाचनको परिणाम आकलन गर्न सजिलो छैन ।


प्रकाशित : वैशाख १७, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्