एसईई परीक्षा सुरु

तस्बिर : इलिट जोशी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु भएको छ । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । २९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि सामेल हुँदै छन् ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।


प्रकाशित : वैशाख ९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्