२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चाररातेमा चौंरी महोत्सव

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा पाँचौं चौंरी पर्यटन महोत्सव आयोजना गरिएको छ । फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेदेखि सुरु भएको महोत्सव यसपटक ४ दिन चल्ने छ ।

हिमाली क्षेत्रका पर्याय र गहनाका रुपमा स्थापित चौंरी पालन व्यवसायको प्रवर्द्धनसँगै चौंरीजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले पाँचथरमा हरेक वर्ष वैशाख १ गतेदेखि सुरु हुने महोत्सवलाई आयोजकले अन्तर्राष्ट्रिय चौंरी पर्यटन महोत्सव भन्दै आएका छन् ।

भारतको वेष्ट बंगालसँगको सिमावर्ती क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जिल्लाको याङवरक र फालेलुङका गोठबाट ल्याइएका विभिन्न रङ र प्रजातिका चौंरी आकर्षणका केन्द्र बने ।

भारतको सिक्किम र वेष्ट बंगालसँगको सिमावर्ती उक्त स्थानमा आयोजना गरिएको महोत्सवमा किसानले पालेका चौंरी, याक,नाक, तोले,उराङ र डिहीको प्रदर्शनीसँगै चौरी र भेडाजन्य उत्पादनका स्टलहरु राखिएको छ ।

फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन, दिपज्योती युवा क्लब र कञ्चनजंघा चौंरी पालन तथा संरक्षण संस्थासँगै फालेलुङका चौरी किसान आबद्ध संस्था आयोजक छन् ।लोप हुँदै गएको चौंरी पालन व्यवसायको प्रवर्द्धन र संरक्षणका लागि महोत्सव फालेलुङ गाउँपालिकाले २०७४ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । २०७७ सालमा भने कोरोना संक्रमण जोखिमका कारण सञ्चालन हुन सकेन ।

महोत्सव आयोजना गर्न थालेपछि चौंरी पालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको र चौंरीजन्य वस्तुको प्रवर्द्धन र बजारीकरणमा टेवा पुगेको आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थाका उपाध्यक्ष शिल्प राईले बताए ।

हिमालका पर्यायको रुपमा स्थापित चौंरी लोप हुन लागेको भन्दै तिनीहरुको संरक्षण र सम्वर्द्धनमा सहयोग पुर्‍याउन बर्सेनि महोत्सवको आयोजना गरिएको फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ बताँउछन् ।

महोत्सव हेर्न नेपालको १ नम्बर प्रदेशका पाँचथर,ताप्लेजुङ,तेह्रथुम, इलाम, झापा र मोरङसँगै भारतको सिक्किम, दार्जिलिङ, पञ्जाब र कर्साङका मानिस पुगेका थिए ।कच्ची सडकको कष्टपूर्ण यात्रा तय गर्दै यहाँ आएकाहरु चौंरीसँगै उच्च पहाडी क्षेत्रबाट देखिने हिमाल मनोरम दृश्य,गुराँसे वन र खुल्ला चौरको मनोरम दृश्यमा रमाइरहेका देखिन्थे ।


प्रकाशित : वैशाख २, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्