२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुरु भयो रोजा

तस्बिर : सन्जोग मानन्धर, शब्द : अब्दुल्लाह मियाँ

काठमाडौँ — इस्लामी पात्रो, हिजरी सम्वत् अनुसार रमजान ९औं महिनामा पर्छ । इस्लामी पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ लेखिएको हुन्छ । विश्वभरका इस्लाम धर्माबलम्बी मुसलमानहरूले अन्य महिनाभन्दा यो महिनालाई पवित्र र महान मान्छन् । हिजरी सम्वतको आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा मुसलमानहरूले आकाशमा चन्द्रमा हेर्छन् ।

त्यसदिन चन्द्रमा देखिएमा भोलि पल्ट अर्थात् नवौं महिना रमजानको एक तारिखदेखि रोजा सुरु हुन्छ । यो महिनामा विश्वभरका मुसलमानहरु एक महिनासम्म ‘रोजा’ (ब्रत) बस्छन् । इस्लामका पाँच आधार स्तम्भहरु मध्ये एक हो– रोजा (व्रत) । यो वर्षको व्रत सोमबारदेखि सुरु भएको हो ।

रमजान विश्वभरिका इस्लाम धर्माबलम्वीहरुले मनाउने पवित्र महिना हो । इस्लामको पवित्र धर्मग्रन्थ कुरआनमा पत्येक बालिग मुसलमानलाई रोजा अनिवार्य गरिएको छ । रोजालाई अरबी भाषामा ‘सौम’ र फारसी तथा उर्दूमा रोजा भनिन्छ । सौमको शाब्दिक अर्थ कुनै वस्तुबाट रोकिनु वा हट्नु भन्ने हुन्छ ।

इस्लाम धर्ममा रमजानको विशेष महत्त्व छ । मोहम्मद माथि कुरआनका आयात (श्लोकहरु) रमजान महिनाबाट नै अवतरण सुरु भएको मानिन्छ । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु भएको थियो । रोजालाई मानवका विभिन्न इच्छाहरुलाई नियन्त्रण गर्नेमध्येको एक कार्यका रूपमा लिइन्छ । रोजा सूर्योदय हुनुभन्दा एक डेढ घण्टाअघि देखि सुरु भएर सूर्यास्त नहुन्जेलसम्म जारी रहन्छ ।

रोजा बस्नाले मानिसमा आज्ञापालन अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलतालगायतका आचरणमा सुधार आउने मुसलमान गुरुहरूको कथन छ । यो महिनामा पवित्र धर्मग्रन्थ कुरआनको वाचन, अल्लाहको जप, विपन्नहरुलाई सहयोग गर्ने गरिन्छ । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजश्वला भएकी महिलाका लागि भने रोजा अनिवार्य छैन ।


प्रकाशित : चैत्र २५, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्