कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

धूमिल वाग्मती सभ्यता

तस्बिर : दीपक केसी, तस्बिर : इलिट जोशी

काठमाडौँ — संसारमा मानव सभ्यता नदी किनारबाट सुरू भएको मानिन्छ । विश्वका धेरै सहर नदी किनारमै छन् । लन्डनको थेम्स, न्युयोर्कको हड्सन, नयाँदिल्लीको यमुना, पेरिसको सेन र भियनाको दानुव नदी आदि । हामी पनि त्यसमा फरक छैनौं । काठमाडौं उपत्यकामा वाग्मती सभ्यताको इतिहास छ, जुन वाग्मती नदी उपत्यकामा आफ्नै लयमा बग्छ । विश्वका ठूला देश र सहरमा नदी संरक्षण र संवर्द्धनमा उदाहरणीय काम भएका छन् । त्यस्ता नदी र तीसँग जोडिएका सहरको दृश्य हेर्दा हामी लोभिन्छौं । तर, हाम्रो आफ्नै सभ्यताको धरोहर वाग्मती नदीको हालत हेरौं त, यहाँ पवित्र जल होइन प्रदूषित लेदो बगिरहेको छ ।

बाग्द्वार

बस्ती बर्सेनि बढे । ढल निकास संरचनाको उचित व्यवस्थापन भएन । ढल सिधै नदीमा मिसाउँदाको परिणाम, वाग्मती प्रदूषित भएको बताउँछन् अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पूर्वअध्यक्ष महेशबहादुर बस्नेत । वाग्मती सफा बनाउन सरकारले छुट्टै ऐन, व्यवस्थापन संरचना र समर्पित समिति बनाउनुपर्ने उनको मत छ ।

सुन्दरीजल

उपत्यका ठूलो तलाउको रूपमा थियो, मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाएपछि पानीले निकास पाएको किम्वदन्ती छ । त्यसपछि नै उपत्यकामा बस्तीको विकास सुरु भयो । बस्ती र मानव विकासका क्रममा त्यस बेलादेखि नै वाग्मती पवित्र नदीका रूपमा रहन गयो । पशुपतिनाथ, गुह्येश्वरीजस्ता महत्त्वपूर्ण मन्दिर पनि वाग्मती नदी किनारमै छन् ।

गोकर्ण

वाग्मतीको उद्गमस्थल काठमाडौंबाट करिब १५ किलोमिटर उत्तर शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्छ, जसलाई बागद्वार भनिन्छ । यहाँबाट पिउन मिल्ने स्वच्छ कलकल पानी सुन्दरीजलको डाँडा हुँदै उपत्यका छिरेर करिब ३२ किमि यात्रा गर्दै चोभारको गल्छीबाट बाहिरिन्छ । बागद्वारबाट निस्किएर सुन्दरीजलसम्म आइपुग्दा पानी स्वच्छ देखिन्छ । जब सुन्दरीजल डाँडाबाट ओर्लेर बस्तीमा पस्छ, तब वाग्मतीको रुप फेरिन थाल्छ । चोभारसम्म आइपुग्दा त नदी लगभग नालीको रुपमा परिवर्तन भइसक्छ । यो त वाग्मतीको मात्रै कुरा हो । उपत्यकामा बग्ने टुकुचा, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, नख्खु, बल्खुजस्ता अरु सहायक नदीको प्रदूषण नियन्त्रणमा त कसैको ध्यानै गएको छैन ।

पशुपति

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले वाग्मती बचाउ महाअभियानमा २२ वर्षदेखि लागिपरेका छन् । यति लामो समयमा पनि वाग्मती सफा नहुँदा उनी चिन्तित छन् । ‘विगतदेखि नै सरकारी निकाय जिम्मेवार देखिन्न, व्यक्तिगत तवरमा पनि नदी संरक्षणमा चासो पाइँदैन,’ उनी भन्छन्, ‘यसका लागि नीति निर्माण र त्यसको कार्यान्वयन गरिनुपर्ने हो तर आफ्नो स्वार्थसिद्धिका लागि मात्र यसलाई उपयोग गर्दा विभिन्न अभियान सफल हुन नसकेका हुन् ।’

तिलगंगा

विगतमा सहरीकरणसँगै निस्किएका फोहोर व्यवस्थापनमा उचित पूर्वाधार बनाइएन । सोझै वाग्मतीमै ढल निकास हुँदै आयो । पछिल्लो समय सोझै नदीमा ढल हाल्ने क्रमलाई रोक लगाउँदै व्यवस्थित त बनाइएको छ तर पर्याप्त देखिन्न ।

भीमसेनगोला

वाग्मती सङ्लो बनाउने प्रयासस्वरुप शिवपुरीमा धाप ड्याम बन्दै छ । जहाँ वर्षात्को पानी जम्मा गरेर सुक्खा मौसममा वाग्मतीमा पानी पठाउने योजना छ । गुह्येश्वरीमा ढल प्रशोधन गरेर सफा पानी वाग्मतीमा छाड्ने र जोरपाटीदेखि चोभारसम्म नदी किनारमा पार्कलगायत संरचना बनाउने प्रयास भइरहेका छन् । जसले केही आशा भने जगाएको छ । नदीलाई अरू बढी फोहोर हुन नदिन सचेतना भएर मात्रै पुग्दैन, कडाइ नै चाहिएको देखिन्छ । तब मात्रै कुनै दिन किनारको मनमोहक बगैंचामा बसेर स्वच्छ वाग्मती नियाल्न सकिनेछ । के तपाईं त्यो दिनको पर्खाइमा हुनुहुन्छ ?

शंखमूल

चोभार


प्रकाशित : चैत्र २४, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्