कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहाराका सारथि

कविन अधिकारी

काठमाडौँ — गाउँघर, डाँडापाखा, कृषि कर्म । चार वर्षअघिसम्म जीवनका दिन सामान्य थिए । सोलुखुम्बुका टेकबहादुर बुढाथोकीको दिनचर्या २०७४ यता फेरिएको हो । घाँस काट्न जाँदा भीरबाट खसेका उनको कम्मरमुनिको भाग चल्दैन । अहिले ह्वीलचियरसँगै दैनिकी चलाइरहेका छन् । आफूले पाएको दुःख सम्झेर उनी अहिले ह्वीलचियर बनाउने तथा मर्मत गर्ने काम गर्छन् । आफ्नो कामले अरुको जीवनयापन सहज भएको देख्दा उनलाई धेरै खुसी लागेको छ । ह्वीलचियर प्रयोगकर्ताका लागि सहयोगी काम गरिरहेकाहरुमा बुढाथोकी एक्ला होइनन् ।

पर्यटन व्यवसायी टेन्डी शेर्पाले दुर्गम गाउँहरुमा पुग्दा अपांगता भएका बालबालिकाको अवस्था दयनीय देखे । भलो हुने केही गर्ने सोच आयो । त्यही सोचका कारण नेपाल अपांग टेवा संस्थाको स्थापना गरेर उनी १८ वर्षदेखि दुर्गमका त्यस्ता बालबालिकालाई शिक्षा र स्वास्थ्य उपचारको सेवा दिने कामको अगुवाइ गरिरहेका छन् । ह्वीलचियर जुटाउन नसक्नेलाई यो संस्थाले वितरण र मर्मत गर्ने भएकाले ठूलो भर भएको छ ।

पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार नेपालमा औसत तीन लाख ह्वीलचियर प्रयोगकर्ता छन् । विभिन्न संघसंस्थाले वार्षिक ५० हजार थान विदेशबाट आयात गरेर अपांगता भएकाहरुलाई बाँड्छन् । एउटा ह्वीलचियरको औसत आयु तीन वर्ष हुन्छ । गुणस्तरीय ह्वीलचियरलाई समय–समयमा मर्मत गरेर चलाउँदा ८ देखि १० वर्ष टिक्ने बुढाथोकीको अनुभव छ । अपांगता भएका व्यक्ति (खासगरी शारीरिक अपांगता), गम्भीर प्रकृतिका बिरामी, ज्येष्ठ नागरिक, अशक्त असहायहरुलाई आवतजावत गर्न यसको प्रयोग हुन्छ । जनगणना–२०६८ अनुसार देशभर कुनै एक वा बढी प्रकारका अपांगता भएकाहरुको संख्या ५ लाख १३ हजार ९ सय ९३ छ । अर्थात् कुल जनसंख्याको १.९४ प्रतिशत । जसमध्ये करिब १ लाख ९० हजार शारीरिक अपांगता भएकाहरु पर्छन् । काठमाडौंको जोरपाटी बस्दै आएका सल्यानका डन्डबहादुर बुढाथोकीको दुवै खुट्टा चल्दैन । जीवन गुडेको छ ह्वीलचियरमा । आफूजस्तै अरुलाई सहयोग गर्ने सोचले उनले ह्वीलचियर मर्मत निःशुल्क गर्छन् । त्यसमा नयाँ सामान जडान गर्नुपरे सशुल्क सेवा दिन्छन् ।

चितवन घर भई काठमाडौं बस्ने विष्णु अधिकारी मुलुकमा प्रयोगकर्ताको आकारअनुसारको कस्ट्युम ह्वीलचियर बनाउनेमा पहिलो हुन् । सन् १९९५ मा एक जना अस्ट्रेलियनले नेपाल आउँदा ह्वीलचियर ल्याउन गाह्रो परेको थियो । उनलाई यहाँ उपलब्ध ह्वीलचियर प्रयोगमा गाह्रो भएको थियो । २०४७ मा हामीले पनि बनाउन सकिन्छ कि भन्दै अपांग सहायता कोषका तत्कालीन अध्यक्ष तारानाथ कोइरालाले हौसलासँगै खर्च उपलब्ध गराएपछि ४५ सय खर्च लगाएर पहिलो पटक नेपालमै ह्वीलचियर बनाएको अधिकारी सम्झन्छन् । अमेरिकाको एक विश्वविद्यालयबाट झिकाइएको किताबबाट बनाउने तरिका पढेपछि बनेको थियो त्यो पहिलो ह्वीलचियर । उनी आफैंले प्रयोग गरिरहेको ह्वीलचियर पनि २०५८ मा बनाएका हुन्, जो निरन्तर प्रयोगमा छ । ६ हजार ५ सयको लागतमा बनाएको उनको यो ह्वीलचियर एक सातामै तयार भएको थियो । अधिकारीले त्यो बेला बनाएको ह्वीलचियर वीर अस्पताल, डब्लूएचओका साथै लिंकन स्कुलले पनि प्रयोग गरेको थियो । पछि ‘फ्री ह्वीलचियर मिसन’ आयो, त्यसले स्थानीयस्तरमा बनाउने काम पनि रोकिएको थियो । २५ वर्षीय रामकाजी जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रको कार्यशालामा ह्वीलचियर बनाउनमा व्यस्त भेटिन्छन् । ७ वर्षदेखि उनी यसै पेसामा आबद्ध छन् । आफूजस्तै फरक क्षमता भएकाहरुलाई केही हदसम्म भए पनि सहयोग पुर्‍याउँदै दैनिक खर्च पनि यसैबाट जुटाउँदै आएका छन् ।


प्रकाशित : चैत्र १४, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

यसरी हुँदैछ सभापतिको मतगणना [तस्बिरहरू]

कविन अधिकारी

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।


प्रकाशित : मंसिर २८, २०७८ २३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×