कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

काकाकुल ढुंगेधारा

तस्बिर : किरण पाण्डे, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौं उपत्यकाको सौन्दर्य मान्छेको भीड, बेढंगका बग्रेल्ती घर, बाँगाटिंगा बाटा र कुरूप संरचनाहरूले मिचिएको छ । एक समय देवस्थलका रूपमा परिचित उपत्यकाको आभा मन्दिरहरू, देवल र कलात्मक ढुंगेधाराहरूले निखारेको थियो । तर बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विस्तारको मारमा सहर बिस्तारै कुरूप बन्दै गयो । जमघट हुने, जात्रा र पर्वसँग प्रत्यक्ष साइनो भएका र ढुंगेधाराहरू अतिक्रमणको सिकारमा पर्दै गए ।

काठमाडौं मलको जग गहिरो गरी खनिएपछि टुँडिखेलमा रहेको मुहान अवरुद्ध हुँदा सुन्धारामा पानी आउन छाडेको छ ।

पानीका मुहानमाथिको अतिक्रमण, पानी पुनर्भरण हुने पद्धतिलाई बेवास्ता गर्दै घरहरू बनाइएका छन् । उपत्यकावासीको जीवनदायी शक्ति मानिएका ढुंगेधाराहरू सुक्दै गए । कति मासिए, कति अतिक्रमणको चपेटामा परे । जोगिएका थोरै ढुंगेधाराहरूबाट पानी झर्दैन । ती अतिक्रमणको साक्षी छन् ।

धावाहिटी, भक्तपुर

ढुंगेधाराको साइनो पानीको वितरण प्रणालीसँग मात्रै छैन । निर्माणमा प्रयोग गरिएको सौन्दर्यको साइनो संस्कृति र इतिहाससँग पनि जोडिएको छ । उपत्यकामा ढुंगेधाराको परम्परागत नाम ‘इति’ हो । अपभ्रंश भएर ‘हिटी’ बन्न पुग्यो । काठमाडौं उपत्यकामा ईशापूर्व प्रथम शताब्दीमा ढुंगेधाराको विकास भएको मानिन्छ । इतिहास हेर्ने हो भने पाटनको च्यासल टोलमा रहेको ‘नाः हिटी’मा रहेको गजलक्ष्मीको प्रथम शताब्दीको मूर्तिले सम्भवतः यो नै मुलुकको पुरानो ढुंगेधारा भन्ने जनाउँछ । इतिहास अध्येताहरूका अनुसार किरात वंशको अन्त्य हुँदै लिच्छविकाल र मल्लकालमा धेरै ढुंगेधारा विकास भए ।

सौगलहिटी, पाटन

उपत्यकामा पानीका मुहान र नदीनाला पर्याप्त भए पनि बस्ती विकाससँगै डुँडबाट पानी ल्याएर ढुंगेधाराहरूको विकासक्रम सुरु भयो । ढुंगेधाराको मुख्य स्रोत राजकुलो, पोखरी, भूमिगत जलाधार र वर्षा हो । काठमाडौंका लागि रानीवन हुँदै बूढानीलकण्ठबाट पाटन क्षेत्रका लागि लेलेबाटे, चापागाउँ हुँदै लगनखेलको सप्तपाताल र भक्तपुरको हकमा नगरकोटबाट ताथली, दगुआबाट भक्तपुर दरबारसम्म राजकुलो ल्याइयो । बस्तीनजिकै जमिन खनेर पोखरी बनाइयो । राजकुलोको पानी पोखरीमा मिसाइयो र त्यसलाई रिचार्ज गरेर डुँडमार्फत ढुंगेधारामा पानी खसाइयो ।

पाटनको आल्को हिटीको मुहान रहेको जग्गा खरिद बिक्री नगर्न स्थानीयले टाँसेको सूचना । आल्को हिटी यो घरको अर्कोतर्फ छ ।

राजकुलोबाट ढुंगेधारामा डुँडबाट पानी ल्याउँदा ‘गथिचा’ भन्ने माटोले ठूलो भूमिका खेल्ने गर्दछ । यो विशेष खालको पानीले नबिगार्ने माटो हो र पानी स्रोतबाट आउँदा चुहावट नहोस् भनेर यसले डुँडलाई लेपन गरिन्छ । एउटाबाट अर्को डुँड जोड्दै पानी ल्याइन्छ र यो अंग्रेजी अक्षर ‘यू’ आकारको हुने गर्दछ । १००–२०० मिटरबाट पानी आउने हुँदा पानी शुद्धीकरणका लागि खाल्टो अथवा घ्याम्पो बनाएर त्यसमा गिट्टी र बालुवा राखेर पानी खाल्डोको मुखबाट मुहानको पानी पस्ने र शुद्धीकरणपछि तलको मुखबाट पानी शुद्धीकरण भई ढुंगेधाराबाट झर्ने गर्दछ । शुद्धीकरणको प्रक्रिया मुहानबाट धारासम्म आउँदा दुई–तीन पटक हुने हुँदा ढुंगेधाराको पानी कहिल्यै विशुद्ध नहुने जनविश्वास रहिआएको छ । ढुंगेधारामा पानी ल्याउने र पास गर्ने प्रविधि दुवै महत्त्वपूर्ण हुन्छन् । ढुंगेधाराबाट बाहिरिने पानी मुख्यतया नदी–नाला, सिँचाइ र नहरहरूमा मिसाइन्थे । अझ यसभित्रको लेउ खान माछा र भ्यागुतो छिर्ने र भ्यागुतो खान सर्प छिर्ने हुँदा यस प्रकारको जीवन चक्रले पानी कहिल्यै अवरुद्ध नहुने बताइन्छ ।

ढुंगेधारामा विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. सन्ध्या खनालले गरेको अध्ययनअनुसार २०७२ सालमा काठमाडौंमा २०४, पाटनमा ६३ र भक्तपुरमा ९९ वटा ढुंगेधारा थिए । कुल ३ सय ६६ ढुंगेधारामध्ये १ सय १९ मा राम्रोसँग पानी आउने, १९ वटामा थोपा–थोपा पानी आउने, २४ वटामा वर्षामा मात्रै पानी आउने र कहिल्यै पानी नआउने ९२ र लोप हुने अवस्थाका ९ ढुंगेधारा थिए ।

भक्तपुरको राजोपाध्याय हिटी

लोप हुने अवस्थामा पुगेका ढुंगेधारामध्येको एक हो, काठमाडौं धोबीचौरको ढुंगेधारा । ढुंगेधारामा पानी आउन बन्द भएसँगै धोबीचौरका लुगा धुने व्यवसायीहरूको पेसा संकटमा परेको छ । यो पेसा आबद्ध काठमाडौंका पुराना रैथानेहरू नयाँ पेसा अँगाल्न बाध्य छन् । स्थानीय किरण मगैयाँका अनुसार धोबीचौर क्षेत्रका १३ वटा ढुंगेधारामध्ये २ वटा धारामा पानी आउँछ भने अन्य लोप हुने अवस्थामा पुगेका छन् ।

भक्तपुरको राजोपाध्याय हिटी, यो धारा भएको ठाउँमा अहिले घर निर्माण भइरहेको छ। धारा घरभित्र परेको छ ।

मगैयाँ अघिका ६ पुस्ताले यिनै ढुंगेधारामा लुगा धुने र सुकाउने गरेर जीवन कटाए । तर अहिले रजक समुदायका धेरैले चर्को मूल्य तिरेर ट्यांकरको पानी किनेर व्यवसाय धान्न बाध्य छन् । २०५२ सालसम्म राम्रैसँग पानी आउने ढुंगेधारामा पानी आउन छोडेपछि धोबीचौरलगायतका क्षेत्रमा पानीको हाहाकार छ । धोबीचौरमा २०५४ सालमा विभिन्न संघसंस्था र स्थानीय मिलेर ढुंगेधारा जीर्णोद्धार गरे पनि पानी आएन । अहिले नेपाल खानेपानी संस्थानको पाइपमार्फत उपत्यकाका ४० ढुंगेधारामा पानी खसाल्ने गरिएको छ । तर यस्तो कृत्रिम प्रयासले पानीको परम्परागत मूलहरू ब्युँताउन सक्ने अवस्था छैन ।

काठमाडौंको भोटाहिटीस्थित ढुंगेधारा (सन् १९८४) । तस्बिर सौजन्य : निर्मलमान तुलाधर

ढुंगेधारा सुक्नुको मुख्य कारण भनेको राजकुलो मासिनु हो । उपत्यकाभित्रका अधिकांश राजकुलो मासिइसकेका छन् । कतिपय पुरिएका छन् । लगनखेलको सप्तपाताल पोखरी पाटनका ढुंगेधाराको उद्गमस्थल मानिन्छ । तर अहिले त्यहाँ न सप्तपाताल पोखरी छ न ढुंगेधारामा पानी नै आउँछ । ललितपुरको टीकाभैरवबाट यस क्षेत्रमा राजकुलो ल्याइएको थियो । तर चक्रपथ विस्तारसँगै राजकुलो मासिएपछि ढुंगेधारामा पानी आउन बन्द भयो ।

काठमाडौंको भोटाहिटीस्थित ढुंगेधारा, यो धारा भएको ठाउँमा अहिले सब–वे बनाइएको छ ।

पाटनस्थित गुइत: हिटी । लेउ र फोहोरले ढुंगेधारा छोपिएको छ ।

धोबीचौरमा १३ वटा ढुंगेधारा भएतापनि हाल ११ वटामा पानी आउँदैन । दुइटा धारामा भने खानेपानी संस्थानको पाइपमार्फत पानी निकालिन्छ ।

नमुना मच्छिन्द्र स्कुल र सरकारी संरचनाहरुले पोखरी मासिएपछि उजाड सप्तपाताल पोखरी । चक्रपथ विस्तार र अव्यस्थित जग्गा प्लटिङका कारणले राजकुलो मासिएपछि पोखरी सुकेर पाटनका अधिकांश ढुंगेधारामा पानी आउन छाडेको छ ।

ढल्को कनौजियाहरुको सडक छेउमा रहेको मासिएको खाली जग्गा । यहाँ कुनै समयमा ढुंगेधारा थियो ।

टुँडिखेलमा मुहान रहेको सुन्धारा नजिकै काठमाडौं मल निर्माण गर्दा धेरै तलसम्म जमिन खन्दा पानी सुकेको छ ।

टुँडिखेलमा मुहान रहेको सुन्धारा नजिकै काठमाडौं मल निर्माण गर्दा धेरै तलसम्म जमिन खन्दा पानी सुकेको छ ।

ढुंगेधारामा खानेपानीको पाइपबाट पानी वितरण गरेपछि भक्तपुरका केही ढुंगेधारा मासिनबाट जोगिएका छन् ।

मल्लकालीन राजा जगत प्रकाशले बनाएको इन्द्रायणी हिटी । निकास नपाउँदा यहाँ पानी जम्न पुगेको छ ।

बंगलामुखी नजिकै रहेको मसा हिटीमा थुप्रिएको फोहोर नियाल्दै एक स्थानीय ।


प्रकाशित : चैत्र १, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्