कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निसासिँदो उपत्यका

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकामा वायु प्रदूषण बढाउनेमध्ये इँटा उद्योग प्रमुख छन् । नेपाल इँटा उद्योग महासंघका अनुसार तीन जिल्लामा दर्ता भएका १ सय १२ उद्योगमध्ये सय हाराहारी सञ्चालनमा छन् । ललितपुरमा ३० र भक्तपुरमा ६४ इँटा उद्योग छन् । प्रदूषण घटाउन नयाँ उद्योगको अनुमतिमा कडाइ गर्दै सरकारले सञ्चालनमा रहेका उद्योगलाई पनि उपत्यकाबाट स्थानान्तरणको नीति अघि सारेको थियो । तर २०७२ वैशाखको भूकम्पपछि निर्माण सामग्री धेरै चाहिने र टाढाका उद्योगबाट ढुवानी गर्दा इँटा महँगिने भन्दै थाती रहेको योजना अझैसम्म कार्यान्वयनमा आएको छैन ।

दक्षिणकाली–फर्पिङ क्षेत्रबाट ललितपुरमा देखिएको इँटाभट्टाका चिम्नीबाट निस्केको धूवाँको मुस्लो ।

महासंघका अनुसार कोरोना महामारी अघि देशभर करिब १ हजार २ सय उद्योग थिए । अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महामारीका बेला धेरै उद्योग बन्द भए पनि तथ्यांक अद्यावधिक हुन बाँकी रहेको बताए । इँटा उद्योगका कारण हुने प्रदूषण नियमन गर्न वातावरण मन्त्रालयले २०७४ माघ ८ मा निस्किने धूवाँ र चिम्नीको उचाइसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेको थियो । मापदण्डले चिम्नीबाट निस्कने कणको मात्राको अधिकतम सीमा पनि तोक्यो । तर, यी मापदण्ड लागू भए/नभएको अहिलेसम्म अनुगमन भएको छैन ।

प्रदूषण कम गर्न धूवाँको मुस्लो निकाल्ने चिम्नीको साटो ‘जिकज्याक फायरिङ सेटिङ’ प्रविधि उपयोगी हुन्छ । महासंघका अध्यक्ष चित्रकार काठमाडौंमा सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांशमा नयाँ प्रविधि जडान भएको दाबी गर्छन् । ‘काठमाडौंका भट्टाहरूबाट पहिलेको जस्तो धूवाँको कालो मुस्लो निस्कँदैन,’ उनले भने, ‘सबैजसो उद्योगले मापदण्ड पालना गरेका छन् ।’ तर, काठमाडौं बाहिरका उद्योगमध्ये अझै आधाजसोमा यो प्रविधि जडान नभएको उनको भनाइ छ । इसिमोडको सहयोगमा पुराना उद्योगहरूलाई वातावरणमैत्री बनाउने तालिम भइरहेको पनि उनले जानकारी दिए ।


प्रकाशित : फाल्गुन २८, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्