१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रविधिले फड्को मारेपछि...

तस्बिर : अनिस रेग्मी, तस्बिर : कविन अधिकारी

काठमाडौँ — म सानो छँदा हरेक साँझ घरमा ठूलाबडाहरू घेरा हालेर शान्त भएर सुन्ने गर्नुहुन्थ्यो– रेडियो । नबुझे पनि उहाँहरूसँगै म पनि सुन्न बस्थें । ती क्षण मस्तिष्कमा ताजै छन् । अनि त्यो रेडियो पनि । मोटा र ठूला एभरेडी ब्याट्री लाग्ने, लामो एरियल, माथि तानेर बजाउनुपर्ने । ती रेडियो आजभोलि सायदै प्रयोगमा होलान् । जीवनको कुनै क्षणमा हाम्रो पुस्तासम्मले त्यो देख्न र प्रयोग गर्न पाए पनि अबको पुस्तामा त्यसको महत्त्व छैन ।

टाइपराइटर

प्रविधिको क्रमिक विकाससँगै ती रेडियो मात्रै होइन, करिब एक दशकअघिका धेरै वस्तु इतिहासको गर्भमा सीमित हुने अवस्थामा पुगेका छन् । त्यस्ता चीज, जुन केही वर्ष अघिसम्म दैनिक जीवनका पर्याय थिए, ती अब देख्नै पनि मुस्किल छ । तिनलाई विकसित प्रविधिले विस्थापित गरिसके ।

फिल्म क्यामरा

अहिलेको पुस्तालाई रेडियोदेखि फिल्म लाग्ने क्यामरा, पुराना टेलिभिजन–फोन सेट, डेस्कटप कम्प्युटरका सीआरटी मोनिटर र फ्लपी डिस्कसम्म नौलो लाग्न सक्छन् । स्मार्टफोन र ट्याब्लेटका टचस्क्रिनमा औंला चलाउनेहरूलाई प्रविधि रूपान्तरणका चरण सुन्दा पनि रमाइलो कथाजस्तो लाग्न सक्छ ।

फिल्म क्यामरा

अहिले इमेल पठाउन–पाउन डेस्कटप वा ल्यापटप र फोटो खिच्न क्यामरा छुट्टै खोजिरहनु पर्दैन । गीत सुन्न वाक्मेन वा आइपोड चाहिँदैन । टेलिभिजन वा इन्टरनेटका साइटमा कुनै श्रव्यदृश्यको प्रत्यक्ष प्रसारणलाई भारी भरकम डिभाइस नचाहिने भएको छ । एउटा मोबाइल फोन सेट अथाह सुविधा छन् । अडियो–भिडियो संवाद गर्न, फोटो–भिडियो खिच्न, सम्पादन गर्न, क्यालकुलेटर, रेडियो, टर्चलाइट, कम्प्युटर, पेन ड्राइभ, हार्डडिस्क, जीपीएस आदि थुप्रै सुविधा मोबाइल फोनमै छ ।

रोटरी डायल टेलिफोन

हरेक कामका लागि जब छुट्टाछुट्टै डिभाइस चाहिने जमाना थियो, महँगो त थियो नै, सुलभ पनि थिएन । सबैको डिभाइसमा पहुँच सम्भ्रान्त वर्गलाई मात्र सहज थियो । एक दशकमै पनि प्रविधि विकासले धेरै ठूलो फड्को मारिसकेको छ ।

ग्रामो फोन

इतिहासको गर्भमा पुगिसकेका ती वस्तु अहिले संकलकहरूका लागि ‘एन्टिक पिस’ भएका छन् । अहिले पनि केही सौखिनहरू ‘आउटडेटेट डिभाइस’ प्रयोग गरिहेका छन् । तर त्यस्ता वस्तुहरू प्रयोग गर्न अहिले सहज छैन । भीसीआर भए पनि अहिले त्यसमा लाग्ने क्यासेट कहाँ पाउने ? टेपरेकर्डर त होला तर त्यसमा बजाउन नयाँ क्यासेट चक्का भेटिँदैन । केही ‘एन्टिक पिस’ अझै कतै कतै सौखका रूपमा राखेको देखिन्छ । तर प्रयोग हुन छाडेको छ ।

क्यासेट चक्क

चाडपर्व, विवाह आदि विशेष उपलक्ष्यमा फोटो खिचाउन पाइन्थ्यो । त्यो पनि ठूलाका हातमा क्यामरा हुन्थ्यो र बडो जतनसाथ क्लिक गरिन्थ्यो । हरेक क्लिकको अर्थ हुन्थ्यो । सामान्यतया एउटा रिलबाट ३६ वटासम्म मात्रै फोटो खिच्न मिल्थ्यो । त्यो फोटो हेर्नका लागि रिल धुलाउन पठाउनुपर्थ्यो । अहिले मोबाइल हात हातमा छन्, फोटो जति खिचे पनि रिल सकिने चिन्ता लिनु पर्दैन । व्यावसायिक फोटोग्राफरका लागि क्यामरामा प्रविधिले ठूलो फड्को मार्दा अब ‘मिररलेस’ आइसकेको छ, जो पुरानो क्यामराका तुलनामा हलुका त छँदै छ, फोटो–भिडियोको गुणस्तर पनि अब्बल छ । घरका कुनै कुनामा थन्किएका ती ‘एन्टिक पिस’ हेर्नुस्, तपाईंलाई ‘नोस्टाल्जिक’ बनाउनेछ ।

फ्लपी डिस्क

लेटर प्रेस ब्लक

भीसीआर

सीआरटी टेलिभिजन


प्रकाशित : फाल्गुन १९, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्