हिउँ छैन हिमालमा

धनश्याम खड्का

घडीको सुई घुमेझैं गोलाकार उभिएका छन्, धौलागिरि पाँचौं, मानापाथी, फेन्चपास, मुकुट, सीता चुचोरो, धौलागिरि प्रथम र टुकुचे पिक । फेदीमा हातको अञ्जुली आकारमा छ, धौलागिरि बेस क्याम्प । यही क्याम्पदेखि करिब ५ किलोमिटर तलसम्म फैलिएको छ धौलागिरि हिमनदी (ग्लेसियर) । पृथ्वीको तापक्रम वृद्धि हुँदा केही वर्षयता हिमनदी पग्लिँदै खुम्चिरहेको छ ।

बेस क्याम्प क्षेत्रमा टी हाउस चलाई बसेका हरि तिलिजाले पछिल्लो २५ वर्षमा हिउँ पग्लेर हिमनदीको आकार कम्तीमा २ सय मिटर खुम्चिएको दाबी गरे । बर्सेनि कम्तीमा ३ फिटसम्म सतह गहिरिँदै गएको उनको भनाइ छ । म्याग्दी नदीको मुहानसमेत रहेको धौलागिरि हिमनदी बर्सेनि ढिक्का–ढिक्का टुक्रिएर बग्ने गरेको छ । स्थानीयले ‘धौलागिरिका हिमचितुवा’ भनी बोलाउने तिलिजाका अनुसार चैतदेखि जेठसम्म हिमनदी टुक्रिएर ढिक्का बन्ने र असारदेखि भदौसम्म वर्षा हुँदा बग्ने गर्छ ।

सन् १८०८ मा भारतमा रहेको बेलायती सर्भे टोलीले धौलागिरि हिमालको उचाइ ८१४७ मिटर रहेको पत्ता लगाएको थियो । त्यसपछिका ३० वर्ष यसैलाई नै संसारको उच्च शिखर मानियो । सगरमाथाको उचाइ मापन गरिएपछि मात्रै उक्त मान्यता फेरिएको हो । धौलागिरि हिमशृंखलाअन्तर्गत ७ हजार मिटर अग्ला १० हिमाल छन् । त्यसमध्ये धौलागिरि संसारको सातौं र नेपालको छैटौं अग्लो हिमाल हो । तस्बिर : घनश्याम खड्का/कान्तिपुर


प्रकाशित : फाल्गुन ७, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्