२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालुवामा भेटिएको मूर्तिको संग्रहालय यात्रा [तस्बिरहरू]

केशव थापा

काठमाडौँ — सिन्धुपाल्चोक इन्द्रावती खोलामा बालुवाको काम गर्ने मेलम्ची, बरेटारका तामाङ दाजुभाइले एक महिनाअघि बालुवाकै थुप्रोमा आकर्षक हिन्दु भगवतीको मूर्ति फेला पारे ।

यो कस्तो मूर्ति होला भन्ने पत्तो नपाइकनै तामाङ दाजुभाइमध्येका अगुवा चक्रबहादुरले आफ्नो घरको एउटा कुनोमा लगेर मूर्ति थन्क्याए । मूर्ति भने बालुवा खन्ने क्रममा स्थानीय श्रमिक साजन, सन्तबहादुर र दिलबहादुर तामाङले पहिलोपटक फेला पारेका थिए । उनीहरूले बालुवामा अनौठो मूर्ति भेटेको कुरा सिन्धुपाल्चोक, सुनखानीको बालुवा काठमाडौंसम्म ओसार्ने ट्रक चालकलाई पनि जानकारी थियो । उनीहरूले सिन्धुपाल्चोक, मेलम्ची–१३ मा मूर्ति भेटिएको खबर काठमाडौंसम्मै ल्याए ।

‘मूर्ति भेटिएको सूचना पाएपछि त्यसबारेको खोजबिन र मूर्ति भेट्ने तामाङ दाजुभाइसँग कुराकानी अघि बढ्यो,’ सम्पदा संरक्षण महाअभियानका अभियन्ता यादवलाल कायस्थले कान्तिपुरसँग भने, ‘मूर्तिको अवस्थिति पहिल्याएपछि र मूर्ति भेट्नेले उक्त सम्पदा बुझाउन तयार भएपछि शुक्रबार पुरातत्व विभागको साथमा हामी सुनखानी पुगेका थियौं । बालुवाका श्रमिक चक्रबहादुरले जतनका साथ मूर्ति राख्नुभएको रहेछ, अन्तयमा स्थानीय बाहुनेपाटी प्रहरी पोष्टको रोहबरमा मूर्ति ल्याउन सक्यौं,’ कायस्थले भने ।

‘भेटिएको मूर्तिको बनोट र शैली हेर्दा यो मूर्ति एक शताब्दी पुरानो झैं देखिन्छ,’ पूरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘यो पूरातात्विक सम्पदाको उत्पत्ति थलोबारे तत्काल केही भन्न सकिन्न, अथवा के–कसरी सुनखानीमा पुग्यो भन्ने पनि खोजीकै विषय हुन सक्छ । तर, यो सम्पदा निकै महत्वको रहेको पाएका छौं ।’ शुक्रबार नै उक्त मूर्ति छाउनी संग्रहालयलाई हस्तान्तरण गरिएको छ । सुनखानीमा भेटिएको मूर्ति लिन शुक्रबार पूरातत्वका अधिकृत प्रकाश खड्का, अभियन्ता कायस्थसहितको टोली सिन्धुपाल्चोक गएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्