हिमपातसँगै चिसो बढ्दा हुम्लाको जनजीवन कष्टकर

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । 

हिमपातसँगै यहाको तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ । चिसोले वृद्धवृद्धा, बालबालिकालगायतलाई थप असहज बनाएको छ । सदरमुकाम सिमकोटमा तापक्रम माइनस ८ डिग्रीसम्म झरेको छ । बाक्लो हिमपातले सिमकोट विमानस्थल बन्द भएको छ ।

लामो समयदेखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । गहुँ र उवा छर्ने समय भएकाले  हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन् । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीको भनाइ छ ।


प्रकाशित : माघ १०, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्