कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता इकान्तिपुरमा कोरोना भाइरस संक्रमणको जोखिमबीच खोप लगाउनेको भीड, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भएका प्रदर्शनलगायतका तस्बिरले प्राथमिकता पाए । यो साता हामीलाई मन परेका ७ तस्बिरहरू : पहिलो तस्बिर : ललितपुरको चापागाउँमा खेतीयोग्य जमिनलाई मासेर प्लटिङका लागि डोजर चलाइँदै । तस्बिर : दीपक केसी

माघे संक्रान्तिको अवसरमा राजधानीको टुंडिखेलमा रमाउँदै आफ्नै मौलिक पहिरनमा सजिएर आएका मगर समुदायका युवती । तस्बिर : सन्जोग मानन्धर

बालकुमारीस्थित काठमाडौं र ललितपुर जोड्ने झोलुङे पुल हुँदै न्यानो कपडा लगाएर गन्तव्यतिर लाग्दै युवती । पश्चिमी वायुको प्रभावले गर्दा सामान्य बदली भएर उपत्यकालगायत देशैभर चिसो बढेको छ भने हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । तस्बिर : अंगद ढकाल

एपीएफका अमरसिंह रौटेला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस क्लबविरुद्ध मास्क लगाएर बलिङ गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ

टेकुस्थित शुक्रराज ट्रोपिकल अस्पतालमा खोपको लागि घण्टौँ उभिएर थाकेका युवतीहरू आराम गर्दै । तस्बिर : अंगद ढकाल

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलमा हस्ताक्षर अभियान चलाएर प्रदर्शन गरिँदै । तस्बिर : सन्जोग मानन्धर

कास्कीको मादी गाउँपालिका–२ ताङतिङमा ३ हजार १ सय मिटर उचाइमा रहेको क्रपु डाँडामा रमाउँदै आन्तरिक पर्यटक । पुसमा परेको बाक्लो हिमपातपछि पोखरालगायत स्थानबाट क्रपु डाँडामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्बिर : दीपक परियार


प्रकाशित : माघ ८, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा सेतो चामलकै भर, लोप हुँदै रैथाने बाली

खेतीयोग्य जग्गा धमाधम मासिन थालेपछि कर्णालीमा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव
ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशमा रैथाने बाली लोप हुँदै जाँदा सेतो चामलको माग बढ्दै गएको छ । खेतीयोग्य जग्गा धमाधम मासिन थालेपछि कर्णालीमा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मात्रै गत वर्ष झन्डै १ लाख क्विन्टल चामल बिक्री गरेको थियो । बजारमा त्यसको झन्डै ४ गुणा चामल व्यापारीमार्फत बिक्री हुने कर्णाली प्रदेश योजना आयोगको तथ्यांक छ । जुम्लाको चन्दनाथ नगरपालिकाका मीनदत्त देवकोटाको ५ वर्षको अवधिमा १० मुरी धान फल्ने खेत घडेरीका रूपमा बिक्री गर्नुपरेको बताए । ‘जताततै घडेरी नै बन्न थाले, मैले पनि पैसाको लोभले खेतीयोग्य जग्गा बिक्री गरें,’ उनले भने, ‘घरमै सेतो चामल आउन थालेपछि गाउँमा पनि खेतमा गएर दुःख गर्ने जाँगर हराएको छ ।’ धानको ब्याड राखेदेखि फल्ने बेलासम्म गर्ने दुःख र खर्चले सेतो चामल दोब्बर बढी परिणाममा आउने भएपछि खेतीमा सबैको जाँगर घट्दै गएको उनी बताउँछन् ।

अहिले कर्णालीका हिमाली जिल्लामा चिनो, कागुनो, फापर, मार्सीधानलगायतको बाली खेती गर्नेको संख्या न्यून छ । रैथाने बाली लोप हुन थालेसँगै कर्णालीको पहिचान संकटमा परेको दैलेखको नारायण नगरपालिका–२ का ६५ वर्षीय जगत विष्टले बताए । ‘आफ्नो जग्गा बाँझो राखेर भए पनि विकासे चामल खाने बानीले कृषि पेसा धरापमा परेको छ,’ उनले भने, ‘जताततै सडक सञ्जाल जोडिएपछि आयातित बाली र खाद्यवस्तुको प्रयोग बढिरहेको छ ।’

कर्णालीमा सबैभन्दा बढी धान उत्पादन हुने सुर्खेत, सल्यान, दैलेख र जुम्ला सदरमुकाम र स्थानीय तहका केन्द्रमा धमाधम जग्गा प्लटिङको क्रम बढेको छ । खेतीयोग्य जमिन घरघडेरीमा बिक्री हुँदा कर्णालीमा २७.५५ प्रतिशत जमिन बाँझो रहेको प्रदेश योजना आयोगको तथ्यांक छ । सुर्खेत उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष बासुदेव शर्माले आफूले मात्रै वार्षिक झन्डै ४ लाख ४० हजार लिटर तेल र ४२ हजार ५० क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा पठाउने गरेको बताए । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक प्रदेश घोषणा गरेपछि झन् कृषि पेसामा लाग्नेको संख्या घटेको दैलेखको जारकोटका किसान मयाराम थापाले बताए । उनका अनुसार मन्त्रालयले प्रांगारिक मलको प्रयोग गर्न रोक लगाएपछि कृषि उत्पादन थप घटेको छ । ‘रासायनिक मल नपाउँदा माटोमा पौष्टिक तत्त्वको कमी भयो, माटोको उर्वराशक्ति हराउँदै गयो,’ उनले भने, ‘रैथाने बालीमा विभिन्न रोगकिराको प्रकोप बढ्न थाल्यो ।’

मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब २ हजार हेक्टरमा मात्र कोदो उत्पादन हुन्छ । गत वर्ष २१ हजार मेट्रिक टन मात्रै कोदो उत्पादन भएको थियो । साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिने कर्णालीमा करिब ५ हजार हेक्टरमा जौ उत्पादन भइरहेको छ । गत वर्ष साढे १४ हजार मेट्रिक टन जौ उत्पादन भएको थियो । चिनो र कागुनो करिब ३ हजार हेक्टरमा खेती भइरहेको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ४५ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा १ लाख ५५ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन भएको थियो । उनले कर्णालीमा कुल जमिनको ९.९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको जानकारी दिए ।

कर्णालीको खेतीयोग्य जमिनमध्ये २७ .५५ प्रतिशत जग्गा अझै बाँझो रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १७.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका प्रमुख माधवकुमार मिश्रले सुर्खेतबाट वार्षिक झन्डै १ लाख क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा जाने गरेको बताए ।

प्रकाशित : माघ ८, २०७८ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×