२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संक्रान्तिका दिन टुँडिखेलमा जे देखियो

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — माघ महिनाको पहिलो दिन शनिबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण सरकारले लगाएको प्रतिबन्धका कारण विगतको तुलनामा सार्वजनिक ठाउँमा जमघटका कार्यक्रम कम भए । तैपनि काठमाडौं टुँडिखेलमा मौलिक पोसाकमा सजिएका मगर समुदायका मानिसहरु भेला भइ तस्बिर खिच्ने र रमाइरहेका देखिए ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए । देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाए पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख भएको धर्मशास्त्रविद् प्रा रामचन्द्र गौतमले बताए ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलको मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरीजस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्य राम्रो हुने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । यस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए ।


प्रकाशित : माघ १, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्