कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रतिबन्धका बावजुद रोकिएन रूरूको मकर मेला [फोटोफिचर]

माधव अर्याल

पाल्पा — कोरोना रोकथामका लागि प्रशासनले मेला-महोत्सवमा रोक लगाए पनि रूरू क्षेत्रको माघे संक्रान्ति मेला रोकिएन । पाल्पा, गुल्मी र स्याङजाको त्रिवेणी मानिने यस क्षेत्रमा हरेक वर्षको माघ १ गते धुमधामसाथ मकर मेला लाग्ने गर्छ ।

पछिल्लो २ वर्षयता भने अघिल्ला वर्षहरूमा झैं भीडभाड भएन । हिन्दु परम्परा अनुसार नेपालका प्रमुख चार धाममध्ये एक मानिन्छ काली गण्डकीको रूरू क्षेत्रलाई । पछिल्लो समय यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनाउने प्रयास पनि भएका छन् । काली गण्डकीमा हरेक वर्ष टाढा–टाढाबाट माघे संक्रान्ति मेला भर्न तथा मकर स्नान गर्न तिर्थालुहरू आउने गर्छन् । यस्तै ऋषिकेशव मन्दिरमा दर्शन गर्न आउनेहरूको भीड पनि बाक्लो हुने गर्छ । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार कोरोना संक्रमणको त्रासका कारण यस वर्ष विगतमा जस्तो श्रद्धालुहरूको भीड लागेन ।

माघे संक्रान्तिमा रूरू कन्याको दर्शन तथा नदीमा स्नान गरे पाप मोचन हुने र पुण्य प्राप्त हुने हिन्दु जनविस्वास छ । यस्तै संक्रान्तिको अवसरमा काली गण्डकीमा स्नान गरेर तानसेन नगरपालिका–१४, अर्गलीमा रहेको रूरू क्षेत्रस्थित ऋषिकेशव मन्दिरमा पुजा गर्नुपर्ने धार्मिक विश्वास छ। महामारीका बावजुद यस वर्ष मेला भर्न पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँची, रुपन्देहीलगायतका जिल्लाबाट दर्शनार्थी आएका छन् । परापूर्व कालमा रूरू कन्याले भगवान विष्णुको तपस्या गरी खुसी तुल्याएर सदाका लागि यहीँ बस्न बाध्य बनाएको धार्मिक किम्बदन्ती छ ।

रूरू क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गरिन्छ । तर पछिल्लो समय कालीगण्डकी ए जलविद्यूत् परियोजनाले मिर्मीमा नदी थुनेर विद्युत् निकालेपछि भने रूरू क्षेत्र प्रदूषित बन्दैगएको छ । मेलाको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि आउने गर्छन् ।


प्रकाशित : माघ १, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्