सुनसान बन्यो देवघाट

तस्बिर : दीपक केसी, रासस

चितवन — विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उहाँले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गरे । उनले भने, 'सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।'

बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको बताए । उनले भने, 'रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।' स्थानीय प्रशासनले बिहानबाट हिड्न दिएपछि भने केही भक्तजन सो क्षेत्रमा पुगेका छन् । यद्यपि विगत वर्षको तुलनामा भने यहाँ भक्तजन निकै न्यून देखिएका छन् । देवघाट मेला भर्न झण्डै पाँच लाख भक्तजन आउने अपेक्षा गरिएको थियो । मेलाको औपचारिकरुपमा शुक्रबार बिहान बेनीमा लिङ्गो गाढेर शुभारम्भ गरिएको थियो । गएका वर्षहरुमा भक्तजनको ठूलो सङ्ख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो ।

सङ्क्रान्तिको अघिल्लो रात शुक्रबार धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।


प्रकाशित : माघ १, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

बाबुआमाको मृत्युपछि ४ लालाबाला अलपत्र

१३ वर्षदेखि कोइलाखानीमा काम गर्दै आएका मोहनलालको १ सय ६० मिटर गहिराइमा च्यापिएर मृत्यु, एक वर्ष नबित्दै श्रीमती शान्तिले पनि प्राण त्यागिन्
दुर्गालाल केसी

तिर्साङ, दाङ — सोनिया कामी ‘मा, मा १’ भन्दै रोइरहन्छिन् । रुँदारुँदा उनको घाँटी सुक्छ तर पनि आमा आउँदिनन् । आमा अब कहिल्यै नआउने बाटो गइसकिन् । त्यो हो– बाबा गइसकेको बाटो । न बाबा, न आमा । अब कोही आउने छैनन् ।

अहिले ११ महिने सोनियाको आमा बनेकी छन्– ११ वर्षीया दिदी शर्मिला । घरी पिठ्यूँमा बोक्छिन्, घरी काखमा लिन्छिन्, घरी यताउति भुलाउन खोज्छिन् तर पनि सम्हाल्न सक्दिनन् । बहिनीलाई फुल्याउन सकेजति प्रयास गर्छिन्, अन्त्यमा नसकेर आफैं रुन थाल्छिन् । ‘नरोऊ नानी, आमा अब आउँदिनन्,’ बहिनीले नबुझे पनि उनी एक्लै सम्झाइरहन्छिन् । ‘बहिनी रुन थालेपछि मलाई पनि गाह्रो हुन्छ,’ उनले भनिन्, ‘सँगसँगै रुन थाल्छौं । अनि दाइ–भाइ पनि रुन थाल्छन् ।’

सुनसान घरमा केटाकेटीको रुवाइबाहेक अरू केही सुनिँदैन । न उनीहरूलाई थुमथुम्याउने कोही छ न आफैंलाई सम्झाउन सक्छन् । खानपान, सरसफाइ र स्याहार गरिदिने कोही नभएपछि उनीहरूलाई रुनुबाहेक विकल्प छैन । केही बचेखुचेका पुराना कपडा आँगनमा गाडिएको खाँबोमा अझै पनि झुन्डिइरहेका छन् । घरको आँगन मान्छे बस्न छोडेको महिनौं भएझैं असरल्ल छ, घर रानी हराएको मौरीझैं भएको छ ।

फाइल तस्बिर : दाङको घोराही–१९ राम्चेस्थित कोइलाखानीमा पुरिएर मृत्यु भएका मोहनलाल कामीको शोकमा श्रीमती शान्ति, कान्छा छोरा अशोक, किरिया बसेका १३ वर्षीय छोरा दीपक र आफन्त ।

१७ दिनकी सुत्केरी श्रीमतीलाई पोसिलो खानेकुरा जुटाउन र चार छोराछोरीको खाना खर्च जुटाउन कोइलाखानी सुरुङमा पसेका मोहनलाल कामी घर फर्कन पाएनन् । घोराही–१९ तिर्साङका ४१ वर्षीय मोहनलाल ०७७ फागुन १० मा स्थानीय राम्चे कोइलाखानीको सुरुङभित्र पुरिए । त्यसको एक वर्ष नबित्दै श्रीमती शान्ति कामीले पनि गत मंसिर २८ मा संसार छोडिन् । अब घरमा १३ वर्षीय दीपक, ११ वर्षीया शर्मिला, ६ वर्षीय अशोक र ११ महिनाकी सोनिया मात्रै छन् ।

बाआमाको मृत्यु भएपछि चार भाइबहिनी टुहुरा भएका छन् । दीपकले एक वर्ष नबित्दै बा–आमाको किरिया गर्नुपर्‍यो । अब उनीहरूको लालनपालन कसले गर्ने भन्ने अन्योल छ । ‘घरमा खानेकुरा छैन, भाइबहिनी रोइरहन्छन्,’ दीपकले भने । अहिले उनीहरूलाई छिमेकी काकी चन्द्रकला कामीले संरक्षण दिएकी छन् । ‘पालैपालो बा र आमा बितेपछि केटाकेटीलाई अलपत्र पर्न दिन भएन,’ उनले भनिन्, ‘मैले नै हेरचाह गरिरहेकी छु । साना बच्चा छन् । रातदिन रोइरहन्छन् । कसरी सम्हाल्नु, साह्रै गाह्रो भएको छ ।’

बाआमाको मृत्युपछि ११ महिने बहिनी सोनियाको हेरचाह गर्दै ११ वर्षीया शर्मिला कामी ।

१३ वर्षदेखि कोइलाखानीमा काम गर्दै आएका मोहनलालको १ सय ६० मिटर गहिराइमा च्यापिएर मृत्यु भएको थियो । खानीभित्रको काम जोखिमपूर्ण छ । कुनै पनि सुरक्षाका उपायबिना सुरुङभित्र पस्ने र कोइला निकाल्ने गरिन्छ । काममा जोखिम भए पनि सुत्केरी श्रीमतीको पालनपोषणका लागि काममा जानैपर्ने बाध्यता थियो । बिहान श्रीमतीलाई खाना खुवाएर बेलुका फेरि खाना पकाउन फर्कने वाचा गरेका मोहनलाल त्यसपछि फर्किएनन् ।

कोइलाखानीमा अड्किएको जीवन

श्रीमान्को मृत्युपछि शान्तिलाई बालबच्चाको पालनपोषणमा साह्रै समस्या भयो । गाउँघरमा मागेर भए पनि उनले बालबच्चा पाल्दै आएकी थिइन् । रातदिनको चिन्ताले शरीर गल्दै गयो । गाउँतिर घुमेर घर फर्कने क्रममा बाटोमा लडेर उनको ज्यान गयो । साथमै रहेका छोरा दीपकले केही गर्न सकेनन् । ‘गाउँ घुमेर घर फर्कंदै थियौं, बाटोमा एक्कासि लड्नुभयो, त्यसपछि उठ्नुभएन,’ उनले भने, ‘गाउँघरका मानिसहरू बोलाउँदा प्राण गइसकेको थियो ।’३३ वर्षीया शान्तिकी जेठी छोरी गीता १५ वर्ष पुगिन् । उनको विवाह भइसकेको छ । अहिले घरको जेठो सन्तान दीपक हुन् । उनको काँधमा भाइबहिनी स्याहार्ने जिम्मेवारी आएको छ । ‘हामी आफैं केटाकेटी छौं, कसले कसको हेरचाह गर्ने ?’ दीपकले भने, ‘घरमा बस्न डर लाग्छ । के गरौं, कता जाऔं भएको छ ।’

घोराही-१९ राम्चेस्थित कोइलाखानीको सुरुङ र त्यसमा राखिएका मजदुरका कपडा । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

सदरमुकाम घोराहीबाट २१ किलोमिटर उत्तरमा पर्ने तिर्साङ गाउँ भौगोलिक रूपमा विकट छ । दीपकको खरको छानो भएको सानो घर र थोरै बारी छ । त्यसमा वर्षमा एक बाली मकै लाग्छ । मकैले एक महिना पनि खान पुग्दैन । उब्जनीले खान नपुग्ने भएकाले मोहनलालको कमाइले नै परिवार पालिएका थिए । मोहनलालको मृत्युपछि सुरु भएको दुर्दशा शान्तिको मृत्युसम्म पुग्दा जर्जर भइसकेको छ । ‘ज्यान पाल्ने उपाय केही छैन, पहिले पनि गाह्रो थियो, अब बा–आमा नै नभएपछि झन् कसले खर्च जुटाउने ?’ छिमेकी अमृता विकले भनिन्, ‘अब कसले कमाएर खान दिने, कसले हेरिदिने ? साह्रै ठूलो विपत् आइलाग्यो ।’

दीपक ४, शर्मिला २ र अशोक १ कक्षामा पढ्छन् । बुबाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनथे । घरमा आमाको साथी चाहिने, बहिनीको हेरचाह गर्नुपर्ने र खर्च धान्न गाह्रो हुने भएपछि उनीहरूलाई पढाइमा निरन्तरता दिन कठिन भएको थियो । अहिले आमाको पनि मृत्यु भएपछि उनीहरू भाइबहिनीको हेरचाहमै दिन बिताइरहेका छन् ।

ज्यानमारा खानी

स्थानीयस्तरमा जीवन निर्वाहका आधार बनेका कोइलाखानी ज्यानमारा सावित भइरहेका छन् । ११ वर्षमा खानीमा ६ जना मजदुरको ज्यान गइसकेको छ । घोराही–१९ तोसस्थित खानीमा स्थानीय दुर्गे राना र चन्द्रबहादुर विकको ज्यान गयो । यसैगरी बोक्सिनी भीरको खानीमा रोल्पा रुन्टीगढीका टीका डाँगी र फलितेखानीमा स्थानीय भीमकान्त रावतले ज्यान गुमाए । घोराही–१९ दुईखोलीका ४६ वर्षीय भक्तबहादुर घर्तीको गत मंसिर २७ गते घोराही–१ काउलेस्थित कोइलाखानीमा च्यापिएर ज्यान गयो ।

दाङमा १२ ठाउँबाट कोइला उत्खनन हुन्छ । घोराही–१९ को बोल्दी, राम्चे, बजारपानी र तोस एवं बंगलाचुली गाउँपालिकाको मर्पेस, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामुरे र भुल्केमा एक/एक कोइलाखानी छन् । बंगलाचुलीको टाकुरामा दुई खानी छन् । एक खानीमा ४५ देखि ५० जनासम्म मजदुरले काम गर्छन् । दाङमा पाँच वटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन् । एक कम्पनीले वार्षिक १ हजार २ सय मेट्रिक टन उत्पादन गर्छन् ।

तोस कोइलाखानीको सुरुङ । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

खानीभित्र मजदुरले खनेर बाटो खोल्ने गर्छन् । भित्रभित्रै सुरुङहरू हुन्छन् । तिनै सुरुङमा पसेर कोइला निकालिन्छ । सुरुङभित्र कोइला खोज्न ढुंगा, चट्टान काट्नुपर्छ । एक क्विन्टल कोइला खन्दा १ सय ४० रुपैयाँ कमाउँछन् । एक दिनमा एक जनाले बढीमा ८ देखि १० क्विन्टलसम्म खन्छन् । कोइला बोक्नेले एक क्विन्टलको ७० रुपैयाँ पाउँछन् ।

एक मजदुरले दिनमा ७ सयदेखि १ हजार रुपैयाँसम्म कमाउँछन् । कोइलाखानीको कुनै पनि नियमन र अनुगमन हुन नसकेको तिर्साङका पूर्णबहादुर विकले बताए । ‘खानीमा मानिसहरू पुरिएर ज्यान गइरहेको छ तर पनि कसैको ध्यान पुगेको छैन,’ उनले भने, ‘भगवान् भरोसामा काम गर्नुपर्ने बाध्यता छ । कति बेला ज्यान जान्छ, भन्नै सकिँदैन ।’

खानी तथा खनिज पदार्थ नियमावली २०५६ मा खानी उत्खनन गर्दा पालना गर्नुपर्ने सर्तहरूअन्तर्गत दफा १९ को उपदफा ६ मा उत्खनन गर्दा खोलेको टोपा, टनेल, खाल्डा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । दफा ३८ मा खानीको जिल्ला समन्वय समितिले अनुगमन गर्नुपर्ने व्यवस्था छ ।

दफा ३८ को उपदफा १ मा अनुगमन समितिले प्रचलित ऐन, नियम र मापदण्डअनुसार काम नभए कम्पनीलाई आवश्यक निर्देशन दिन, उत्खनन कार्य रोक्न र अनुमतिपत्र खारेज गर्न सक्नेसम्मको अधिकार दिइएको छ । खानीमा भएको जोखिम तथा क्षतिबारे जानकारी पाएको तर अझैसम्म अनुगमन गर्न नसकेको जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

प्रकाशित : माघ १, २०७८ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×