१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

यस्तो छ एपीएफ अस्पतालको तयारी [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालमा केही दिनयता कोभिडका बिरामी बढेसँगै विभिन्न अस्पतालहरुले पनि तयारी अघि बढाएका छन् । कोभिडका बिरामीको चाप हुने अस्पतालमध्ये एक बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले पनि सम्भावित बिरामीलाई लक्षित गर्दै आफ्नो तयारी तीव्र पारेको छ ।केही दिनयता अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू व्यस्त देखिन्छन् । सरसफाइका साथै बेडलाई व्यवस्थित गर्नु तथा स्वास्थ्य सामग्री जुटाउनु अस्पताल कर्मचारीहरूको दैनिकी जस्तै बनेको छ । अस्पताल पुग्दा कोही अक्सिजनका सिलिन्डर बोकिरहेका छन् त कोही बिरामी राख्ने कोठा सफा गरिरहेका देखिन्छन् ।

एपीएफ अस्पताल बलम्बुमा कोभिडका बिरामीका लागि २०० बेड छन् । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार जनरल वार्डमा ८०, एचडीयूमा १०० र आईसीयूमा २० वेड रहेका छन् । यसअघि कोरोनाको पहिलो चरणमा देशभर संक्रमण तीव्र भइरहँदा सबैभन्दा धेरै कोभिडका बिरामी भर्ना गर्ने अस्पतालमध्ये यस अस्पताल पनि एक हो ।

एपीएफ अस्पतालमा अहिले ८० जना बिरामी उपचाररत छन् । तीमध्ये जनरल वार्ड र एचडीयूमा ७४ जना र आईसीयूमा ६ जना रहेका छन् । उक्त अस्पतालमा कोभिड सुरु भएदेखि अहिलेसम्म ४ हजार ७०३ जनाले उपचार सेवा लिइसकेका छन् । अहिले बिरामीको संख्या ह्वात्तै बढे पनि अक्सिजन चहिने बिरामी भने निकै कम रहेको एपीएफ अस्पतालका प्रवक्ता प्रवीण नेपालले जनाए ।

नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित देखिएका छन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ ।


प्रकाशित : पुस ३०, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्