कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३०० औं पृथ्वी जयन्ती मनाइयो

तस्बिर : कविन अधिकारी

काठमाडौँ — ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले शोभायात्रा निकालेको छ । आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।


प्रकाशित : पुस २७, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

नाकामा कार्यरत स्वास्थ्यकर्मी आफैं संक्रमित

जमुनाह नाकामा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
रुपा गहतराज

नेपालगन्ज — भारतबाट फर्केकाहरुसँगै कोरोना गाउँगाउँमा नपुगोस् भन्दै नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् ।

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।

नेपालगन्जस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

हेल्थ डेस्कमा कार्यरत एक जना ल्याबका कर्मचारी र अर्का पारामेडिक्समा कोरोना पुष्टि भएको उनले बताए । संक्रमित दुवै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोनाबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।

नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एप्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीमा समेत कोरोनाको जोखिम छ ।भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ । १७ जनामा चार जना मात्र ल्याब टेक्निसियन छन् ।

भारतमा कोरोनामा भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किन थालेका हुन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदराबाद, चेन्नईबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित : पुस २७, २०७८ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×