कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

महिलाका हातमा स्टेयरिङ

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राजधानीमा कुनै समय गाडीको चालक भन्नेबित्तिकै पुरूष बुझिन्थ्यो । महिलाले इच्छा जाहेर गर्दासमेत हौसला दिनुको सट्टा निरूत्साहित गर्ने रवैया समाजमा थियो । महिलाले त्यसमाथि विजय पाए । सवारी चलाउने काममा बढेको सहभागिताले महिला केहीमा कम छैनन् भन्ने पुष्टि गर्छ ।

सविता मगर टेम्पो चलाउन थालेको २० वर्ष भयो । सिन्धुलीकी उनी बिरामी परेर उपचारका लागि काठमाडौं आएकी थिइन् । फाट्टफुट्ट महिला चालक देखेपछि उनलाई यो पेसा गर्न सकिन्छ भन्ने लाग्यो र टेम्पो चलाउन सिकिन् । भविष्यमा बस किनेर बस चलाउने उनको सपना छ ।

मुना श्रेष्ठ घिमिरे अघि मुलुकमा एक्स्काभेटर अपरेटर (चालक) महिला थिएनन् । उनी २० वर्षदेखि सडक डिभिजन कार्यालयमा हेभी इक्विपमेन्ट ड्राइभर छिन् । हक्की स्वभावकी उनी भन्छिन्, ‘ड्राइभिङ महिलाले नसक्ने भन्ने हुँदैन ।’

सुशीला चौधरीले पठाओ राइडर भएर काम गर्न थालेको सात महिना पुग्यो । ग्राहकले सवारीका लागि एपमा रिक्वेस्ट गर्छन्, महिलाले चलाएको बाइकमा देखेपछि छक्क पर्छन् । उनलाई धेरैले यो काममा हौसला नै दिएका छन् । उनलाई बाइक चलाउन निकै मन पर्छ ।

राष्ट्रिय मानवअधिकार आयोगमा १६ जना चालक छन्, यिनमा मेनुका घिमिरे एक्ली महिला हुन् । १० वर्षदेखि यो पेसामा आबद्ध उनले सीटीईभीटीबाट ३ महिने तालिम लिएपछि गाडी चलाउन थालेकी हुन् । उनी भन्छिन्, ‘मानिसहरु महिलाले पनि गाडी हाँक्न सक्छन् भन्नेमा विश्वास नै गर्दैनन् । मेसिनरी सामान महिलाका लागि होइन पनि भन्छन् ।’

हेमा घिसिङको परिवार धान्ने स्रोत नै ट्याक्सी हो । ४ वर्षदेखि ट्याक्सी चलाइरहेकी उनी यसअघि सफा टेम्पो चलाउँथिन् । हरेक दिन १२ घण्टा ट्याक्सी चलाउँछिन् । ‘कति जना त थर्काएरै ट्याक्सी चढ्न खोज्छन्, भाडा मोलभाउ मनपरी गर्न पनि खोज्छन् तर कति जना भने राम्रै बोल्छन्,’ उनी भन्छिन् ।

साझा यातायातका चालकमध्ये हरमिता श्रेष्ठ मुलुकका कुनै पनि सहर पुग्ने एक्ली र सरकारीस्तरमा पनि प्रथम महिला चालक हुन् । गाडी चलाउन थालेको २१ वर्ष भयो । उनी सानो छँदा घरमा भ्यान थियो । बुबाले चलाउने भ्यानबाट उनले १३ वर्षको उमेरमै रहरले गाडी चलाउन सिकेकी हुन् । काठमाडौंमा राष्ट्रिय महिला आयोगमा महिला चालक चाहियो भनेर विज्ञापन देखेपछि फाराम भरेको उनलाई अस्तिझैं लाग्छ । महिला आयोगपछि राष्ट्रसंघ कार्यालयमा १३ वर्ष गाडी चलाइन् । साझा यातायातमा बस चलाएको ४ वर्ष भयो ।


प्रकाशित : पुस २६, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्