धुलो धुवाँसँगै लड्दै बुनिएका सपनाहरू

दिपेन्द्र रोक्का

ललितपुर — जाडो महिना सुरू भएसँगै काठमाडौं उपत्यका आसपासका इँटाभट्टाहरू चलायमान भएका छन् । भट्टाबाट निस्किएको धुवाँको मुस्लो र इँटाको चाङबाट निस्किएको धुलोमा सयौंको संख्यामा नेपाली र भारतीय मूलका कामदारहरू होस्टेमा हैँसे लगाउँदै छन् ।

बुङमतीस्थित बुङमती इट्टा तथा टायल उद्योग

साधारणतया यस्ता इँटाभट्टाहरू वर्षको ६ महिनामात्रै सञ्चालनमा आउँने गर्छन्, अरु महिना भने सञ्चालन गरिँदैनन् । असार-साउनमा इँटाभट्टाका नाइकेहरूले नेपालका विभिन्न गाउँहरूमा गएर भट्टामा काम गर्ने मजदुरहरू खोजेर ल्याउने गर्छन् । यस्ता भट्टामा नेपाल र भारतको विभिन्न स्थानहरूबाट आएका हजारौं मानिसहरू धुवाँधुलोसँग जुद्दै आफ्ना सपनाको संसारलाई विपनामा साकार तुल्याउन लागिपरिरहेका छन् ।

ढुवानीको क्रममा टुक्रिएका इट्टा आफ्नो डोकोमा राख्दै एक मजदुर ।

ललितपुरको बुङमतीस्थित बुङमती इँटा तथा टायल उद्योगलाई परको डाँडाबाट नियाल्दा निकै भयानक देखिन्थ्यो, चिम्नीबाट निस्किएको सेतो धुवाँको मुस्लो अनि वरपर इँटा सुकाउन छोपिएका प्लास्टिक टल्किरहेको डाँडाबाट देख्न सकिन्थ्यो । भट्टा नजिकै पुगेर फोटो खिच्ने अनुमति माग्न त्यहाँ रहेको एउटा सानो कोठाभित्र म छिरेँ । उनी भट्टा सञ्चालक रहेछन् । उनले तस्बिर खिच्ने मेरो प्रस्ताव ठाडै अस्वीकार गरिदिए ।

इट्टा बोक्दै गरेका मजदुर र धुलोमा आराम गरिरहेका एक बालक ।

बुझ्दै जाँदा‚ मिडियासँग उनको आफ्नै दुखेसो रहेछ । उनले सुनाए‚ ‘मिडियाका मान्छेहरूले खाली नेगेटिभमात्रै देख्छन् । धुलो‚ धुवाँ हुने ठाऊँ हो, फोहोर त देखिहाल्छ नि ! फेरि यी भट्टामा काम गर्ने मानिसका बालबच्चा आफ्नो आमाबाबु भएकै ठाउँमा खेल्छन्, हामीले जतिसुकै भने पनि टेर्दैनन् । अनि त्यहि देखेको भरमा पत्रिकामा बालबालिकालाई शोषण गर्‍यो भनेर छाप्छन् ।’

भारतका विभिन्न ठाउँबाट इट्टाभट्टामा काम गर्न आएका मजदुरहरू ।

आफूहरूले श्रमिकका छोराछोरीहरूलाई पनि पढ्ने व्यवस्था मिलिएको भन्दै उनले भने‚ ‘उनीहरूलाई पढाउने पाँचदेखि ६ जना शिक्षकलाई मासिक तलब दिन्छौँ, काम गर्ने मजदुरलाई बस्ने व्यवस्था गरिदिएका छौँ । अझ कोहीले त खाजा, खानाको व्यवस्था पनि पाएका छन् । यस्तो देख्ने होइन‚ खाली नेगेटिभ ।’

टाउकोमा इट्टा बोकेर नजिकैको साधनमा लैजाने क्रममा महिला ।

धेरै समय कुरेर उनका सबै गुनासो सुनिसकेपछि उनले फोटो खिच्ने अनुमति दिए । उनको यो इँटाभट्टा वातावरणमैत्री भएको उनी बताउँछन् । २०७२ सालको भूकम्पपछि यहाँ जिगज्याग प्रविधि मार्फत इँटा पोल्ने गरिएको उनले जानकारी दिए । ‘चिम्नीबाट सेतो धुवाँ निस्किन्छ‚ पहिलेको जस्तो कालो धुवाँ यसले फाल्दैन । बुङ्‌मतिका सबै इँटाभट्टाहरूले यो प्रविधि प्रयोगमा ल्याएका छन्‚’ उनले भने ।आकाशमा सेतो धुँवा मिसिए पनि भट्टामा काम गर्न सजिलो नभएको भन्दै उनले दुईवटा मास्क लगाए पनि छिनमै धुलोका कणहरू आँखा र मुखभित्र पस्ने दुखेसो पोखे ।

इट्टाभट्टा काम गरिरहेकी भारतीय एक महिलाको धुलाम्मे खुट्टा ।

रोल्पा त्रिवेणी माडी, रून्तेगाडीका २० वर्षीय कमल विक आफ्नो पूर्खाको ऋण तिर्न भनेर करिब एक महिनाअघि ललितपुरको बुङमतीस्थित बुङमती इँटा टायल कारखानामा आएर ठोकिए । अहिले उनी बिहान सवेरै उठेर इँटा चाङ लगाउने, बोक्ने र फाल्ने काम गर्दछन् । यसअघि उनका बुबाले पनि यस्तै इँटाभट्टामा काम गरेर पत्थरीको शल्यक्रिया गरेको उनी बताउँछन् । आफ्नो बुबाले १० वर्षसम्म यस्तै भट्टामा काम गरेको सम्झिँदै उनी भन्छन्‚ ‘अहिले बुबा‚ मेरी श्रीमती र सानी छोरीसँगै रोल्पामा हुनुहुन्छ ।’ त्यसो त उनलाई पनि रूघा लाग्ने, सास बढेजस्तो हुने समस्या देखापरिसकेको छ । ‘ काम गर्न धेरै गाह्रो छ, इँटाको धुलोले कहिले दम र पत्थरी हुने हो ठेगान छैन ।’ ६ महिना काम गरेबापत डेढ लाख रकम आर्जन गर्ने सपना बोकेका छन् कमल विकले । मनग्गे आम्दानी भए आधा रकम बाउबाजेको ऋण तिर्ने र बाँकी रकमले रोल्पामै खेती किसानीमा खर्च गर्ने उनको चाहना छ ।

साधारणतया भट्टामा काम गर्ने मजदुरको तुलनामा भट्टा नाइकेहरूले बढी आम्दानी गर्छन् । सबै कामका आ-आफ्ना नाइके छन् । अरु कामदारको तुलनामा नाइकेको बढी भरोसा हुने र कामदार भागेको खण्डमा पनि नाइकेहरूले उनीहरूको सट्टा अर्को मान्छे खोजेर ल्याउने कारण पनि उनीहरूलाई कमिसन दिँने गरिएको इँटाभट्टा सञ्चालकहरू बताउँछन् ।

इट्टाको धुलो टोकरीमा लैजाँदै भारतीय मजदुर ।

नाइकेसँगै रोल्पाबाट पहिलो पटक इँटाभट्टामा काम गर्न आइपुगे १८ वर्षीय अजय खड्का । उनी पनि इँटा चाङ्ग लगाउने, बोक्ने र फाल्ने काम गर्दछन् । उनी बाध्यताले भन्दा पनि रहरले आएको बताउँछन् । ‘गाउँबाट २०-२५ जनासँगै काठमाडौं बसमा आउँदा रमाइलो लागेको थियो तर अहिले यहाँ गर्न काम त्यति रमाइलो लागेन, धुलो धेरै हुने रहेछ‚ बरु विदेश जान्छु,’ उनी सुनाउँछन् ।

काँचो इट्टा बोकेको गधालाई तान्दै एक बालक ।

दुवानीका लागि प्रयोग गरिएका गधालाई तान्दै मजदुरहरू ।

मलेसियामा तीन वर्ष तेलको कारखानामा काम गरेर स्वदेश फर्किएका हेटौंडा झुरझुरेका ३६ वर्षीय मिलन पाख्रिन अहिले यही इँटाभट्टामा काँचो इँटा बनाउने काम गरिरहेका छन् । उनी दैनिक २ हजारदेखि ४५ सय इँटा बनाउँछन्‚ जसमा प्रतिइँटा १ रुपैयाँका दरले कमाउने गर्छन् । केहि दिनअघि आएको अविरल वर्षाले उनले बनाएको धेरै काँचो इँटा नाश गर्‍यो, त्यसलाई माटोमै फाल्नु बाहेक अरु विकल्प उनीसँग रहेन । उता भट्टा संचालकहरू मौसमको पूर्वानुमान गरेर इँटा छोप्न प्लास्टिक दिएको दाबी गर्छन् । पाख्रिनले मलेसियामा काम गर्दा अहिलेको भन्दा धेरै दुःख भोगिसकेका छन् । मलेसियामा हुँदा धेरै समय जङ्गलमा हिँड्नुपर्ने अनि तेल निकाल्न पनि उत्तिकै दुःख भोगेको उनी सुनाउँछन् । जाडो महिनामा यहाँ काम गर्दा समय पनि कट्ने, तितोमिठो गफ पनि हुने र अलिकति भए पनि पैसा आर्जन हुने भएर इँटाभट्टामा काम गर्दैछन् ।

काँचो इट्टा बनाउँदै हेटौंडा झुरझुरेका मिलन पाख्रिन ।

भारत पश्चिम बंगाल नपाराका २४ वर्षीय होलीकुमार कश्यप पनि नाइकेकै साथमा पहिलोपटक नेपाल छिरेको बताउँछन् । कमाएको पैसा लगैर आफ्नै गाउँमा खेती किसानीमा प्रयोग गर्ने उनी बताउँछन् । उनले आफूलाई इँटाभट्टाको धुवाँ र धुलोले केही असर नगरेको भन्दै आफूसँग थुप्रै भारतीयहरू भट्टामा काम गरिरहेको बताए ।

भारतको पश्चिम बंगालबाट इट्टा भट्टामा काम गर्न आएका २४ वर्षीय होली कुमार कश्यप ।

उमेरले ५० वर्ष कटिसकेका रोल्पाको घर्ति गाउँका रमेश विकले यस्तो इँटाभट्टामा काम गर्न थालेको १७ वर्ष भइसक्यो । सात जना छोराछोरीका बा उनी दुई जना छोराले भट्टामै काम सिकेर पछि विदेश गएको बताउँछन् । ‘ मजदुरको जीवन सजिलो छैन, दम लाग्न थालिसक्यो, रुघा पनि दिन बिराएर लाग्छ । अब सक्ने बेलासम्म त होला नि केही गर्ने‚’ उनी सुनाउँछन् ।

इट्टा चाङ लगाउने क्रममा नेपाली र भारतीय मजदुरहरू ।

यी र यस्तै विभिन्न सपनाहरूका कार्यक्षेत्र हुन्‚ उपत्यकाका इँटाभट्टा । यहाँ श्रमिकहरू हरेक जाडोयाम सुरु भएसँगै उपत्यका छिर्छन् र सपनाको महल खडा गर्न धुलो र धुवाँको पर्वाह नगरी काम गर्न विवश हुने गर्छन् । अर्कातिर छन् उनीहरूका सन्तान‚ जो आफ्नो बाबुआमासँगै बसेर धुलोमा खेल्न विवश छन् । उपत्यकामा मात्रै दुई सयभन्दा बढी इँटाभट्टाहरु रहेको अनुमान गरिन्छ ।


प्रकाशित : पुस २४, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्