१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बगरमा यसरी बन्दैछ होल्डिङ सेन्टर [तस्बिरहरु]

पर्वत पोर्तेल

दुवागढी, झापा — मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोलाको बगरमा होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । चार विगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टर एक हजार जना क्षमताको हो । होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ । जसमा १४ वटामा क्वारेन्टिन रहने छ । दुई वटा चिकित्सक र स्वाथ्यकर्मीले आवासको रुपमा प्रयोग गर्नेछन् ।

कुल लागत २५ करोड रहेको होल्डिङ सेन्टर गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो । पूर्वी नाकामा होल्डिङका लागि जमिन अभाव भएपछि खोलाको बगरमा बनाइएको हो । होल्डिङ सेन्टर बन्दै गरेको स्थान पूर्वीनाकाबाट करिब २० किलोमिटर टाढा छ । यसअघि सरकारले काँकडभिट्टा नाका आसपासमा होल्डिड सेन्टर निर्माण गर्ने जनाएको थियो । तर, काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरको बनाइएको हो ।

मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार नाकामा जमिन नपाइएको गुनासोपछि वडाले जमिन उपलब्ध गराएको हो । विगतमा हडिया खोला बगेको करिब १० बिघा जमिन वडाले संरक्षण गरेर राखेको थियो । वडाले यो जमिनमा खेलकुद रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यन निर्माणको योजना बनाएको थियो ।

देशभर आठ नाकामा एकै डिजाइनका होल्डिड सेन्टर निर्माणका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । सेनाले देशैभरी हनुमान कन्ट्रक्सनलाई निर्माण ठेक्का दिएको छ । असार तेस्रो साताबाट निर्माण सुरु भएको होल्डिड सेन्टर भदौ ३ गतेभित्र सम्पन्न गर्नु पर्ने थियो । तर, निर्धारित समयमा निर्माण नसकिएपछि म्याद थप गरिएको र पुसभित्र निर्माण सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित : पुस २२, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्