१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

४२ सालमा चोरिएको लक्ष्मी-नारायण मूर्ति प्रतिस्थापन

तस्बिर : केशव थापा

ललितपुर — ३८ वर्षअघि पाटनको पट्को टोलबाट चोरिएको लक्ष्मी‐नारायण (वासुदेव‐कमलाजा नाममा समेत चिनिने) मूर्ति अमेरिकाबाट फिर्ता गरी साविककै नारायण मन्दिरमा प्रतिस्थापन गरिएको छ । सन् १९८४ को जुन‐जुलाई महिनाको एउटा मध्यरातमा लक्ष्मी‐नारायणको मूर्ति चोरिएको थियो । सुरक्षाकर्मी र सहयोगीको बलबुतामा मध्यरातमा मूर्ति उठाएर गाडीमा उक्त मूर्ति लगिएको थियो ।

यो मूर्ति चोरिएकोबारे सन् १९८९ मा प्रकाशित अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरिएको छ । यो मूर्ति सन् १९८४ मा चोरिएको विवरण वाङ्देलको कृतिमा उल्लेखित छ ।

पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि गत चैत ३० गते घर फर्किएको थियो । गत वर्ष मात्रै यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मुर्ति फर्काएको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)मा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो ।

मूर्ति प्रतिस्थापन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, ललितपुरका मेयर चिरिबाबु महर्जन, वडा न १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हेरिटेज रिकभरी क्याम्पेनका अध्यक्ष ऋद्धिबाबा प्रधान लगायतका सम्पादाप्रेमी र संरक्षणकर्मीका साथै स्थानीय उपस्थित थिए ।

१५औं शताब्दीको मानिने यो सम्पदा के–कसरी चोरिएर अमेरिका पुर्याइएको हो भन्नेबारे एफबीआईले खोजी गरिरहेको छ ।


प्रकाशित : मंसिर १८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्