कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४२ सालमा चोरिएको लक्ष्मी-नारायण मूर्ति प्रतिस्थापन

तस्बिर : केशव थापा

ललितपुर — ३८ वर्षअघि पाटनको पट्को टोलबाट चोरिएको लक्ष्मी‐नारायण (वासुदेव‐कमलाजा नाममा समेत चिनिने) मूर्ति अमेरिकाबाट फिर्ता गरी साविककै नारायण मन्दिरमा प्रतिस्थापन गरिएको छ । सन् १९८४ को जुन‐जुलाई महिनाको एउटा मध्यरातमा लक्ष्मी‐नारायणको मूर्ति चोरिएको थियो । सुरक्षाकर्मी र सहयोगीको बलबुतामा मध्यरातमा मूर्ति उठाएर गाडीमा उक्त मूर्ति लगिएको थियो ।

यो मूर्ति चोरिएकोबारे सन् १९८९ मा प्रकाशित अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरिएको छ । यो मूर्ति सन् १९८४ मा चोरिएको विवरण वाङ्देलको कृतिमा उल्लेखित छ ।

पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि गत चैत ३० गते घर फर्किएको थियो । गत वर्ष मात्रै यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मुर्ति फर्काएको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)मा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो ।

मूर्ति प्रतिस्थापन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, ललितपुरका मेयर चिरिबाबु महर्जन, वडा न १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हेरिटेज रिकभरी क्याम्पेनका अध्यक्ष ऋद्धिबाबा प्रधान लगायतका सम्पादाप्रेमी र संरक्षणकर्मीका साथै स्थानीय उपस्थित थिए ।

१५औं शताब्दीको मानिने यो सम्पदा के–कसरी चोरिएर अमेरिका पुर्याइएको हो भन्नेबारे एफबीआईले खोजी गरिरहेको छ ।


प्रकाशित : मंसिर १८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

ओमिक्रोनको सङ्क्रमण रोक्न भारतको सीमा क्षेत्रमा सतर्कता

कान्तिपुर संवाददाता

काठमाडौँ — अफ्रिकी मुलुकबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ ।


सीमा नाका भएर आउने यात्रुमध्ये कोरोनाका शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजिटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

'सीमा नाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजिटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौं,' जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, 'कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतलगायत मुलुकमा देखा परेपछि नमूना परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ ।'

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उनले बताए । जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।

सीमा क्षेत्रमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण

भारतबाट भित्रिने यात्रुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शंकास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ ।

'मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी यकिन गरिन्छ,' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, 'क्षयरोग (टिवी)को परीक्षणका लागि खकार संकलन गरी जिल्लामै रहेको जिन ल्याबमा लगेर परीक्षण गर्छौं ।' क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत् जानकारीसमेत दिइने गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×