कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिउँले ढाक्यो मनाङ [फोटोफिचर]

शब्द : आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा बस्ती ढाकिने गरी हिमपात भएको छ । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । बिहीबार पानीसहित परेको हिउँ पग्लिएकोमा शुक्रबार हिउँमात्रै परेकाले बस्ती पुरै हिउँमय भएको छ । माथिल्लो मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङका अनुसार बिहीबार परेको हिउँ पग्लिएको छ । रातिदेखि शुक्रबार दिनभरी परेको हिउँ भने पग्लिएको छैन । हिउँ पर्ने क्रम जारी छ ।

उनले हिउँ ४ इन्चसम्म जमेको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार बुधबार रातिदेखि नै मनाङमा हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । पर्यटक आउने गरेको उनले बताइन् । उनका अनुसार हिमपात भएपछि पर्यटकलाई गन्तव्यमा नजान सुझाइएको छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले हिमपातका कारण माथिल्लो मनाङमा सवारी आवागमन हुन नसकेको बताए । मनाङस्थित घरबाट हुम्डेस्थित पालिका कार्यालयसम्म हिमपातका कारण जान नसकिएको उनले बताए । उनले ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको बताए ।

नार्पाभूमि गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितका अनुसार गाउँपालिका केन्द्र च्याखुसम्म हिउँ आइसकेको छैन । नार र फू गाउँमा भने हिमपात भइरहेको छ । चिसो अत्यधिक बढेको उनले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए । सदरमुकाम चामे र तल्लो क्षेत्र नासों गाउँपालिकाका बस्तीमा पनि हिउँ आइपुगेको छैन ।

तस्बिरहरु : छिरिङ लोप्साङ गुरुङ र ललिता गुरुङ


प्रकाशित : मंसिर १७, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्