कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर हेम्जा सडक [तस्बिरहरु]

तस्बिर : दीपक परियार

पोखरा — मध्यपहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) अन्तर्गत पोखराको हेम्जा सडक खण्ड फराकिलो र भर्खरै रंगरोगनले सुन्दर देखिएको छ । सडकको तस्बिर र भिडियो केही दिनअघि सामाजिक सञ्जालमा ‘भाइरल’बन्यो । यो ६ लेनको फराकिलो सडकमा साइकल लेन भने छैन । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको याम्दीदेखि घट्टेखोलासम्म १२ किलोमिटर सडक ६ लेनको बनाइएको छ ।

मध्यपहाडी लोकमार्गको धेरै खण्ड दुई लेन र प्रमुख सहरमा चार लेन भए पनि हेम्जा खण्डमा ६ लेनको बनेको हो । २०७३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दा ४ लेन बनाउने योजना थियो । पोखरा महानगरपालिका, जनप्रतिनिधि र स्थानीयले ६ लेनको बनाउनुपर्ने माग राख्दै सडक विभागमा दबाब दिएपछि दुई लेन थप गरी डीपीआरमा लागत अनुमान बढाइएको थियो ।

लोकमार्ग आयोजनाका सब–इन्जिनियर देवेन्द्र पोखरेलका अनुसार याम्दीदेखि सुइखेतसम्म ६ किलोमिटर र सुइखेतदेखि घट्टेखोलासम्म ६.२ किलोमिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । पोखरा–बागलुङ राजमार्गको याम्दीदेखि सुइखेतसम्म शर्मा एन्ड कम्पनी र सुइखेतदेखि घट्टेखोलासम्म स्वच्छन्द इलाइट जेभीसँग ठेक्का सम्झौता भएको थियो । दुवै भाग जनही १ अर्ब ५ करोड गरी जम्मा २ अर्ब १० करोडमा ठेक्का भएको हो । हालसम्म याम्दीदेखि सुइखेतसम्म ९९ प्रतिशत र सुइखेतदेखि घट्टेखोलासम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । ६ लेनको सडक मिडियन, नालासहित ३० मिटर चौडा छ ।

अस्फाल्ट प्रविधिको कालोपत्र, रंगरोगनले सडकलाई आकर्षक देखाएको छ । विगतमा बर्खायाममा हिलो र हिउँदमा धूलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित छन् । उनीहरुले सडक चाक्लो मात्र नभएर सुन्दरतासमेत लोभलाग्दो भएको बताउँछन् ।

०७४ मा काम सुरु भएको सडकको तीनपल्ट म्याद थप भइसकेको छ । यही वर्षको चैतसम्म अन्तिम म्याद छ । सुरुमा विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको सब–इन्जिनियर पोखरेलले बताए । ‘कोरोना महामारीले आयोजना प्रभावित भयो,’ उनले भने, ‘अब समयमै सकिन्छ ।’ फेदीदेखि घट्टेखोलासम्मको दुई किलोमिटर सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको छ । कालोपत्रपछि अहिले रोड मार्किङलगायत काम जारी छन् । सडक सौन्दर्यीकरणको काम जारी छ ।

६ लेनको सडक बनाउँदा साइकल लेन नबनाउनु गल्ती भएको उनले स्विकारे । ‘साइकल लेन भएको भए राम्रो हुन्थ्यो, महसुस भएको पनि हो,’ उनले भने, ‘पहिले नै डिजाइन भएकाले ठेक्कामा परिवर्तन गर्न सकिएनँ ।’ सडक ४ लेनको बनाएर दुवैतिर एक–एक लेन साइकललाई छुटयाउन सकिने भए पनि इन्जिनियरको तहबाट डिजाइन परिवर्तन गर्न असम्भव हुने उनी बताउँछन् ।


प्रकाशित : मंसिर २, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्