कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी हुँदैछ जनगणना

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना बिहीबारबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना २०७८ सुरु भएको हो ।

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ ।

जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ । यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ। गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन्।

यसअन्तर्गत घर तथा परिवारमूलीको नाम, परिवार सदस्यका नाम, लिंग, उमेर, जन्ममिति र महिना, ५ वर्षमुनिको जन्मदर्ता, जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्मलगायत करिब ५० वटा प्रश्नको सोधेर विवरण लिने छन्।

सुपरीवेक्षकहरू सामुदायिक प्रश्नावली लिएर देशभरिका ६ हजार ७ सय ४२ वडा कार्यालयमा पुग्नेछन्। त्यसमा वडाको क्षेत्रफल, आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको विवरण लिइनेछ। यो प्रश्नावलीले एउटा वडा र अर्को वडाबीचको तुलनात्मक तथ्यांक दिने दाबी गरिएको छ। देशभरिमा ७० लाख घर र ३ करोडभन्दा बढी जनसंख्या रहेको आकलन गरिएको छ। काठमाडौंको थापाथलीस्थित विभागको कार्यालय हातामा डाटा प्रशोधन केन्द्र स्थापना गरिएको छ। पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने र त्यो पूरा गर्न ६ देखि ८ महिना लाग्ने विभागले जनाएको छ। प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिनाभित्र र सम्पूर्ण नतिजा प्रकाशनका लागि भने दुई वर्ष लाग्ने विभागको भनाइ छ।

नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ। २०२८ सालको सातौं जनगणनामा कम्प्युटर मेसिनबाट आँकडा प्रशोधन सुरु गरिएको थियो। जनगणना दुई प्रकारले गर्ने चलन छ। जो जहाँ भेटिन्छ, त्यहींबाट निजको गणना गर्ने विधिलाई ‘डिफ्याक्टो’ भनिन्छ। यसमा व्यक्तिले अक्सर बसोबास (६ महिनाभन्दा बढी समय रहने) गर्ने थलोबाट व्यक्ति तथा परिवारको गणना गरिन्छ। नेपालमा दोस्रो विधिबाट जनगणना गर्ने गरिएको छ। यसलाई रूपान्तरित विधि गणना (मोडिफाइड डेजुरे मेथड अफ काउन्टिङ) भनिन्छ।

जनगणनामा पहिलो पटक यसपालि काठमाडौं जिल्लाभरि ट्ब्यालेट प्रयोग गरिने भएको छ। मूल जनगणनामा काठमाडौं महानगरपालिकासँगै दक्षिणकाली, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी र तार्केश्वर नगरपालिकामा ट्याब्लेट प्रयोग गरिनेछ। त्यसका निम्ति २ हजार २ सय ५० थान ट्याब्लेटको व्यवस्था गरिएको छ। देशका अन्य भागमा भने कागजी प्रश्नावली प्रयोग गरिँदै छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ‘ई–सेन्सस’ विधिबाट त्यहाँ कार्यरत कर्मचारी र आश्रित व्यक्तिको विवरण लिइनेछ। कोही छुटे विभागको टोलफ्री नम्बर ११७८ वा वेबपेजमा सम्पर्क गर्न सक्ने विभागले जनाएको छ । जनगणना मंसिर ९ मा सकिनेछ।


प्रकाशित : कार्तिक २५, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्