१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेंसीसहरमा ‘न्हुदँया भिन्तुना’[तस्बिरहरु]

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ८ का कृष्णमान श्रेष्ठ एकबिहानै नेवारी पोसाकमा चिटिक्क परे । लामो समय अमेरिका बस्दै आएका उनमा आफ्नो पहिचान झल्किन्थ्यो । उनका अनुसार अमेरिकामा चाडपर्व मनाइन्थ्यो, तर कसैले चिन्दैनथ्यो । ‘आफ्नो गाउँघरमा जता पनि चिनेकै । नचिनेको ठाउँ विदेशमा भन्दा स्वदेशमा चाडबाड मनाउन पाउँदा खुसी छु’, उनले भने ।

उनीमात्रै होइन, विदेशबाट चाडबाड मनाउन फर्केका र बेंसीसहरमै रहेका धेरै युवाहरु पोसाकसहित शुक्रबार बिहानै मनाङे चौतारा पुगे । पुरुष केहीले पोसाक लगाएनन् । महिला प्राय: सबैले पोसाक लगाएका थिए । नेवा मिसा दवुकी अध्यक्ष शान्ति श्रेष्ठका अनुसार यसपटक ‘न्हुदँया भिन्तुना’ भव्य भयो । विदेशिएका आफन्तहरु फर्किएर चाडबाड मनाउँदा खुसी लागेको उनले सुनाइन् ।

उनीमात्रै होइन, बेंसीसहर बजारमा बाक्लोगरी बसोबास गरी बसेका नेवार समुदायले शुक्रबार नेपाल संवत्‌को भव्य स्वागत गरेका छन् ।बेंसीसहर बजार साथै विभिन्न बजार क्षेत्रमा र्‍याली निकालेर उनीहरुले नेपाल संवत् ११४२ को स्वागत गरे । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्‌को सुरुवात गरेको खुसीयालीमा नेवार समुदायले विभिन्न कार्यक्रम गरेको बेंसीसहर नेवा खल:का अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए । नेवार समुदायले बेंसीसहरको मनाङे चौताराबाट बाजागाजासहित बजार परिक्रमा गरे । फूलबारी मञ्चमा भेला भएका उनीहरुले न्हुदँया (नयाँ वर्ष) को अवसरमा भिन्तुना (शुभकामना) आदानप्रदान गरे । र्‍यालीमा ७८ वर्षीया धमनारायण श्रेष्ठले टीका र रातो धजा लगाइदिएर शुभकामना आदानप्रदान गरेका थिए । र्‍यालीमा बेंसीसहरमा भएका नेवार समुदायका ७ वटै गुठी (समाज)बाट बालबालिकादेखि वृद्धवृद्धासम्मका सहभागी थिए ।

अगुवा रामकुमार श्रेष्ठका अनुसार गत वर्ष कोरोना संक्रमण जोखिमका कारण नयाँ वर्ष मनाइएन । यसपटक कोरोना संक्रमण घटेसँगै औपचारिक कार्यक्रम गरी मनाइएको उनले बताए । ‘वर्षभरी एकजुट हुन पाउने यो हाम्रो चाड हो । यसले भ्रातृत्व कायम गरेको छ’ उनले भने । उनका अनुसार पहिले परिवारबीच मनाइन्थ्यो । अहिले समुदायले मनाउन थालेपछि यसको महत्व बढेको छ । नेपाल संवत्‌ले समुदायलाई एकसुत्रमा बाँधेको उनको दाबी छ ।

फूलबारी मञ्चमा बोलाइएका अतिथिहरुलाई नेवार समुदायले समयबजी खुवाएका थिए । नेवार समुदायको खाजाको परिकार समयबजीमा चिउरा, भट्टा, अण्डा, मासु, माछा, आलु, झिलिंगा, गुन्द्रुकलगायत पर्छ । सालको पातको टपरीमा समयबजी, गिलासमा ऐला (घरायसी मदिरा), दही लगायतको परिकार खाएर शुभकामना आदानप्रदान गरिएको थियो । शुभकामना साटासाट गर्दै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नेपाली चाडबाडले जातीय पहिचान जोगाएको दाबी गरे । जातीय संस्कृतिले सवै समुदायलाई एकसुत्रमा बाँधेको उनले बताए । आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष हरिजंग तामाङले आदिवासी जनजातिका छुट्टाछुट्टै चाडपर्वले सवैलाई एकता र एकसुत्रमा बााधेको बताए ।


प्रकाशित : कार्तिक १९, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्