कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माला बनाउन भ्याईनभ्याई

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–९ वनकसियामा तिहारका लागि सयपत्रीको माला बनाउन भ्याईनभ्याई छ । ५ जना मजदुरले ५ दिनदेखि माला बनाउँदै बजार पठाउँदै गरेका छन् ।

प्लस टु अध्यनरत बुटवलका वृजेश गुप्ताले यहाँ फूल खेती गरेका छन् । व्यवसायमा रुचि भएका वृजेश गुप्ताले पढ्दै जग्गा लिजमा लिएर १० कट्ठामा सयपत्री खेती गरेका छन् । साउन पहिलो साता बिउ छरेर बेर्ना तयार गरी फूल रोपेका हुन् । ७० दिनमै फूलको कोपिला लाग्न थालेर अहिले बारी पहेलै भएको छ । तिहारलाई लक्षित गरेर फूल उत्पादन गरी माला बनाई बेच्न उनलाई भ्याईनभ्याई छ । उनले कपिलवस्तु, रुपन्देही र दाङसम्म माला बेचिरहेका छन् । उनले ५ सय रुपैयाँ किलो फूल पनि बेचिरहेका छन् ।

थाइल्यान्डबाट बिउ आयात गरी गाढा सुन्तला रंगको सयपत्रीको बगैँचा मनमोहक देखिएको छ । कर्मा ५५५ जातको फूलको उनले बगैँचामै मजदुर राखेर माला बनाई बेच्न पठाइरहेका छन् । गोलो, अठिलो, मध्यम आकार र छिटो नकुहिने फूल भएकाले यसको माग बढी रहेको छ । सातादेखि उनलाई भ्याईनभ्याई भएको छ ।

तिहारमा बचेका फूल मंसिरको लगनका बेला बेच्ने तयारी गरिएको छ । एक लाख लगानी गरेर सय दिनमा ५ लाख आम्दानी भएको बताए ।


प्रकाशित : कार्तिक १९, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले ‘केही परे हामी उद्धार गर्छौं’ भनिदिए राम्ररी निदाउँथ्यौं

मनोज पौडेल

मालदिभ्स — कोभिड–१९ संक्रमणको जोखिम बढेपछि माल्दिभ्सको राजधानी मालेमा दुई दिनयता कर्फ्युजत्तिकै लकडाउन छ । मालेदेखि निकै परसम्मका टापुहरूमा रहेका सबै रिसोर्ट र होटल १५ दिनयता बन्द छन् ।

टापु नै टापुले बनेको देश माल्दिभ्समा होटल, रेस्टुराँ र रिसोर्टहरूमा नेपाली श्रमजीवी छन् । माल्दिभ्समा १० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । तीमध्ये दुई हजार जति युवती छन् र उनीमध्ये अधिकतर घरेलु कामदार छन् । हामी सबै नेपाल सरकारले तोकेको र दिएको श्रम स्वीकृति लिएरै यहाँ आएका छौं । सार्क क्षेत्रमा गैरआवासीय नेपाली संघको अस्तित्व छैन । यहाँ नेपाली दूतावासको पनि प्रत्यक्ष/परोक्ष खासै सम्पर्क/सरोकार छैन । त्यसैले हामी नेपाली श्रमजीवीबारे खासै कुरा बाहिर आउने गरेको छैन ।

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मात्रै माल्दिभ्सको कूटनीतिक मामला हेर्ने श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले फाटफुट सम्पर्क राख्न थालेको छ । दक्षिण एसियाली छिमेकी राष्ट्र भईकन पनि हामीले यहाँ केही समस्या आइपरे आफैंले सुल्झाउनुपर्छ ।

राजधानी माले पुग्न म रहेको हानिफु जिल्लाको मानाफारु टापुबाट ४५ मिनेटको हवाई उडान भर्नुपर्छ । मैले काम गर्ने जस्तै आसपासमा र अझ टाढा एक सयभन्दा बढी रिसोर्ट र तारे होटल छन् । पर्यटन व्यावसायका भरमा चल्ने मुलुक भएकाले अधिकतर नेपाली यहाँ यही पेसामा आबद्ध छन् । माल्दिभ्समा शुक्रबारसम्ममा दुई दर्जनभन्दा बढी संक्रमित फेला परेका छन् । संक्रमणबारे सचेतना व्यापक गरिएको छ । रोकथाममा कडिकडाउ छ ।

अहिले अधिकतर होटलले ‘कोभिड–१९ प्याकेज’ भनेर एकतर्फी घरफिर्ती टिकटसहितको बिदाको सेवासर्त ल्याएका छन् । होटलमै बस्न चाहनेका लागि केही समय खानेबस्ने सुविधा दिइएको छ । तर अनिश्चय बढ्दै गएको अवस्थामा हामीमध्ये धेरै घर फर्कन पाए हुन्थ्यो भन्ने मनस्थितिमा पुगेका छौं । माल्दिभ्समा रहेका १ सय ५० भन्दा बढी होटल/रिसोर्टमा कार्यरत सबै जना बेरोजगार झैं बनेका छन् । बल्ल हिजो मात्रै कोलम्बोस्थित नेपाली दूतावासले पहिलोपटक ‘जहाँ हुनुहुन्छ, अहिले त्यहीँ सुरक्षित भएर बस्नुहोस्’ भन्दै इमेल पठाएको रहेछ । अरू बेला श्रीलंकाको दूतावासबाट कुनै नेपाली कूटनीतिक पदाधिकारी यता आएर नेपाली श्रमजीवीको समस्या वा सरोकारबारे बुझ्न चाहेको र बुझेको कम्तीमा मलाई थाहा भएन । त्यसमाथि श्रीलंकामा पनि नेपाली राजदूत नरहेको थाहा पाएपछि त्यहाँ फोन गरेर हाम्रो कठिनाइ सुनाउनै पनि बेकारको दु:ख बिसाएजस्तो भइरहेको छ ।

अहिलेसम्म त हामी नेपाली समुदायबीच आपसमा कुराकानी गर्दै बसिरहेका छौं । यहाँ संक्रमण र मृत्युको संख्या बढ्यो भने हामी बन्दीको अवस्थामा पुग्नेछौं । माल्दिभ्स टापुले घेरिएको देश छ, पानीजहाज र हवाई उडानहरू बन्द हुने क्रममा छन् । हामीले आफ्नो देश फर्कन चाहेको अवस्थामा कसले भरथेग गर्ने ? यो बेला नेपाल सरकारले कम्तीमा हामीलाई ‘केही परे हामी उद्धार गर्छौं’ भनिदिए राम्ररी सुत्न सकिने थियो । अरू धेरै आशा गरेका छैनौं ।

(मोरङको सिजुवा घर भई माल्दिभ्सको मानाफारुस्थित रिसोर्टमा सेफ पेसामा कार्यरत पौडेलसँग फोनमा गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित : वैशाख ६, २०७७ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×