१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यसरी बनाइँदै छ पाला [तस्बिरहरु]

शब्द/तस्बिर : अंगद ढकाल

काठमाडौँ — नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर उपत्यकाको प्राचीन सहर भक्तपुरका स्थानीय 'पाला' बनाउन व्यस्त छन् । जिल्लाका बोलाछो, लिवाली लगायतका क्षेत्रमा अहिले माटोको दियो 'पाला' बनाउने काम धमाधम भइरहेको छ । तिहारमा माटाका पालाहरुले विशेष महत्त्व राख्ने गर्दछन् । दिनेश प्रजापतिका अनुसार तिहारका लागि मात्र उपत्यकाका विभिन्न ठाउँबाट दियोको माग हुने बताए । उनले यो सिजनमा मात्र २ लाखभन्दा बढी दियो बनाएर बिक्री गरेको बताए ।

बजारमा विभिन्न खाले प्लास्टिकको दियो र विद्युतीय बत्तीहरुले विस्थापित गरिसकेको छ । अहिले पालाहरुलाई तिहारको समयमा पनि मानिसहरूले पूजा कोठामा एउटा मात्र पाला प्रयोग गरेर विद्युतीय बत्तीले झिलिमिलि पार्छन् । यसकारण उनलाई पालाहरु भन्दा माटाका अन्य भाँडाहरु बनाउन मन लाग्छ ।बिक्री हुन थालेपछि माटोको दियोको माग पहिलेभन्दा कम भएको उनको अनुभव छ । वर्षौदेखि माटोको काम गरेर जीविकोपार्जन गर्दै आएका प्रजापती अहिले बजारमा पाइने प्लास्टिकको सामग्रीले विस्थापित गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

माटाका भाँडा बनाउन उनले भोगेको अर्को समस्या माटो नपाउनु पनि हो । पहिले भक्तपुर वरपर माटो सजिलै पाइन्थ्यो । अहिले समय फेरिएको छ । बढ्दो सहरीकरणले गर्दा माटो असहज भएको हो उनीहरु बताउँछन् । समयसँगै काम गर्ने ढाँचा पनि बदलिएको छ, पहिले माटो फुटाउन खुट्टा र हातले चक्र घुमाउन परेपनि अहिले मेसिनले काम सजिलो भने पारिदिएको छ। भाँडा पोल्न नजिकैको आधुनिक भट्टीमा लैजान्छन् जसको दैनिक भाडा ६ सय देखि ९ सय रुपैयाँसम्म पर्न आउँछ । पालाबाहेक तिहारमा भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामग्रीहरूको माग पनि उच्च हुने गरेको व्यवसायीहरु बताउँछन् ।


प्रकाशित : कार्तिक ९, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्