कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यस साता अविरल वर्षापछिको बाढीले डुबाएको धानबाली, विभिन्न जिल्लामा गएको बाढीपहिरो प्रभावितलगायतका तस्बिरले कान्तिपुरमा प्राथमिकता पाए । त्यस्तै सरकारसँगको सहमति भएसँगै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेको, उपत्यकामा प्रसिद्ध 'हाँडी गाउँ जात्रा’ र सप्तकोसी नदीमा दाउरा जोहो गर्दै गरेका सर्वसाधारणको तस्बिर पनि प्रकाशित भए । जुन तस्बिरहरु दर्शकले अत्यन्त रुचाएको पाइएको छ ।

अविरल वर्षाले कपिलवस्तु नगरपालिका २, कुदानमा डुबाएको धानबाली देखाउँदै कृषक । कपिलवस्तुमा ८ हजार हेक्टरमा लगाइएको धानबालीलाई क्षति पुर्‍याउँदा ३१ हजार ५ सय मेटन प्रभावित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिर : मनोज पौडेल/कान्तिपुर

सरकारसँग सहमति भएसँगै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशन तोडेकी छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनशन तोडेकी हुन् । खानलाई मानअवधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका थिए । तस्बिर : कविन अधिकारी/कान्तिपुर

सप्तकोसी नदीमा बाढिले बगाएर ल्याएको दाउरा खोज्दै सप्तकोसी ब्यारेज किनारमा सर्वसाधारण । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर

ललितपुरको पाटनमा बुधबार नवदुर्गा नाच प्रस्तुत गर्दै । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

काठमाडौंको हाँडी गाउँमा 'हाँडी गाउँ जात्रा’ मनाउँदै स्थानीयहरु । जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु भई ३ दिनसम्म मनाउने गरिन्छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर

ललितपुरको खोकनामा धान भित्र्याउँदै किसानहरु । तस्बिर : दिपेन्द्र रोक्का/कान्तिपुर

प्रकाशित : कार्तिक ६, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्

अपुरै मुन्दुम पदमार्ग

डम्बरसिं राई

खोटाङ — प्रदेश सरकारले ‘मुन्दुम पदमार्ग’ परियोजना स्वीकृत नगर्दा निर्माणाधीन मुन्दुम पदमार्ग अलपत्र परेको छ । स्थानीय, प्रदेश र स्वीस सरकारको लगानीमा निर्माणाधीन ‘मुन्दुम पदमार्ग’ परियोजना प्रदेश सरकारमा पेस गरिए पनि पछिल्लो राजनीतिक घटनाका कारण मन्त्रिपरिषद्‍बाट परियोजना पारित नहुँदा अन्योल सिर्जना भएको हो ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लालाई आधार बनाएर तय गरिएको मुन्दुम पदमार्गअन्तर्गत खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको षडानन्द नगरपालिका, टेम्कै मैयु गाउँपालिका र सालला सिलिचुङ गाउँपालिकामा काम अपूरो नै छ । केपिलासगढी गाउँपालिकामा पर्ने १४ किलोमिटरमध्ये ६ किलोमिटर मात्र सकिएको छ । करिब दुई करोडको लगानीमा सकिनुपर्ने उक्त खण्डमा करिब एक करोड ४० लाख खर्च भएको केपिलासगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।

त्यस्तै भोजपुरको षडानन्द नगरपालिकामा पर्ने आठ किलोमिटरमध्ये सात किलोमिटर मात्र पदमार्गको काम सकिएको छ । ९० लाखको लागतमा सकिनुपर्ने उक्त पदमार्गको भौतिक संरचनाको काममा ८६ लाख ६२ हजार खर्च भएको छ । भोजपुरकै टेम्कै मैयु गाउँपालिकाको ३१ किलोमिटर पदमार्ग बनाउनुपर्नेमा १९ किलोमिटर मात्र बनेको छ । यो पदमार्ग खण्डका लागि विनियोजित तीन करोड ५० लाखमध्ये तीन करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।


भोजपुरकै सालपा सिलिचुङ गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम अपूरै छ । उक्त गाउँपालिकामा पर्ने १२ किलोमिटरमध्ये ८ किलोमिटर पदमार्गको काम सकिएको छ । यसका लागि विनियोजन भएको दुई करोड ८१ लाखमध्ये दुई करोड दुई लाख खर्च भएको छ ।

खोटाङको साकेला गाउँपालिकामा पर्ने साढे १० किलोमिटर पदमार्ग सकिएको छ । यसका लागि एक करोड १४ लाख रुपैयाँ खर्च भएको छ । भोजपुरको भोजपुर नगरपालिकामा साडे १२ किलोमिटर पदमार्ग बनेको छ । यसका लागि विनियोजित एक करोड २० लाखमध्ये एक करोड १८ लाख रुपैयाँ खर्च भएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले बताए ।

सकिएको काममा नौ करोड ९९ लाख ८६ हजार सात सय ६१ रुपैयाँ सकिएको छ । यसमध्ये स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ र स्वीस सरकारको ३५ प्रतिशत लगानी भएको हो । यसमा ९९ लाख एक हजार नौ सय ५५ रुपैयाँ खर्च भएको छ । पदमार्गको खानेपानी, छानोसहितको चौतारा, संकेत बोर्डहरु भने स्वीस सरकारको मात्र लगानी छ । मुन्दुम ट्रेल निर्माणमा नौ सय ८६ जनाले काम गरेका छन् । ‘पदमार्गमा सबै मेनुअल्ली काम गरिएको छ,’ साकेला गाउँपालिका अध्यक्ष खड्काले भने–‘पर्खालका लागि थोरै तार–जाली बाहेक अरु सबै स्थानीय सामग्री प्रयोग गरिएको छ ।’

मुन्दुम पदमार्ग निर्माणपछि खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लाका समुदायको जीवनस्तर उकासिने अपेक्षा गरिएको छ । प्रदेशसभा सदस्य रामकुमार राई भन्छन्, ‘माझ किरातका समुदायको भविष्य निर्माणका लागि मुन्दुम पदमार्गको अवधारण बढाइएको हो । यसैलाई मध्यनजरमा राखेर महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा पनि राखिएको हो ।’

सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट भएकाले यसैलाई मुन्दुम पदमार्गको रुपमा विकास गरिएको मैयु टेम्के सालपा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । मुन्दुम पदमार्गमा पर्यटनका नयाँ आयामहरु समेत थपिएको राईको भनाइ छ । उनका अनुसार गोठस्टे विकासका लागि अन्तरक्रिया सुरु गरिएको छ । गोठस्टे विकासका लागि दुर्गाधन राईको अध्यक्षतामा मुन्दुम गोठस्टे समितिसमेत गठन भएको छ । गोठ परम्परालाई विश्वसामु परिचित गराउन गोठस्टेको परिकल्पना गरिएको पूर्व सांसद टंक राईले बताए । ‘पर्यटन प्रवर्द्धनमा गोठ परम्परा उपयुक्त हुन्छ’ राईले भने–‘यसको विकास गरियो भने पर्यटन क्षेत्रमा एउटा नयाँ आयाम सुरु हुनेछ ।’

मुन्दुम पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायत आठ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट यस्तो दृष्य नदेखिने अध्यक्ष राईले बताए ।


यसका साथै तराईका भू–भागहरुसमेत अवलोकन गर्न सकिने भएकाले पदयात्रीको रोजाई बनेको राईले बताए । ‘मुन्दुम पदमार्गबाट सगरमाथा, कन्चन्जङ्गा, मकालु, ल्होत्से, च्रोयु लगायत आठ वटा अग्ला हिमालदेखि अन्य विभिन्न ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ ।’ राईले भने–‘त्यति मात्र होइन, प्राकृतिक सम्पदाले भरिपूर्ण पदमार्गको यात्राले छुट्टै आनन्द दिन्छ ।’

यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम ट्रेल नाम राखिएको राईको भनाइ छ । उक्त पदमार्गमा ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाहरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुराँस, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइन्छ । यस यात्रामा मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायत विभिन्न जङ्गली जनावरहरुसँग लुकामारी खेल्न पाइन्छ ।

मुन्दुम पदयात्रामा किराती स्वादको परिकार अर्को विशेषता हो । फापर, कोदा तथा गहुँको रोटी, ढिँडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटीलगायत परिकार पाइन्छन् । यसबाहेक चौरीको दूध, घ्यू जस्ता खान्की यस क्षेत्रमा पाइन्छ । त्यस्तै जडिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद पाइने राईले सुनाए ।

प्रकाशित : कार्तिक ६, २०७८ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×