३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मर्कामा किसान : पाँजोमै उम्रियो धान

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — वर्षाको पानीले खेतमा डुबेको धानको बाला भिजेर खेतमै उम्रिएको छ । शुक्रबार घाम लागेपछि खेत पुगेका कृषक धानको पाँजो फर्काउँदा बालीमै टुसा पलाएर सेताम्य भएको थियो । त्यही उम्रिएर बाली काम नलाग्ने भएको कृषकले बताएका छन् ।

बाली थन्काउन काटेर खेतकै सुकाइएका धानको पाँजो पानीमा डुबेका थिए । त्यस्तै काटन तयार रहेका छिटो पाकेका बाली ढलेर पानीले भिजाउँदा उम्रिएर कामै नलाग्ने बनेको कलिलवस्तु नगरपालिका ३, शिवगढका कृषक गंगाराम पासीले बताए ।

जिल्लामा वर्षाले स्याहार्न ठिक्क पारेको धानको पाँजो पानीमा डुब्दा ८ हजार हेक्टरमा लगाइएको बालीलाई क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएकोछ । यसले त्यसमा उत्पादन हुने ३१ हजार ५ मेट्रिक टन धान उत्पादन असर पुग्ने केन्द्र प्रमुख रवीन्द्र चौबेले बताए । विषेशगरी छिटो पाक्ने गोरखनाथ, राधा ४ र ६४४४ जातका धानलाई वर्षाले नराम्ररी क्षति पुर्‍याएको छ ।

ऋणगर्जो गरेर धानबाली लगाएका कृषक निकै समस्यामा परेका छन् । उनीहरुले बिहान साँझ हातमुख जोर्नेदेखि घर व्यवहार चलाउन जोहो गर्ने धानबाली क्षति भएपछि यस वर्ष जीवनयापन गाह्रो हुने बताएका छन् । पानी खाएको धान सुकाएर कुटाउँदा कनिका हुन्छ । बीउ उम्रने शक्ति हुँदैन । त्यसैले त्यसले बजार नपाउने कृषकहरु बताउँछन् ।

नियमित वर्षा र मलखाद सहज आपूर्तिले यस वर्ष सात प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएको बेला आइतबारदेखि भएको वर्षाले धानबालीलाई क्षति गरेको हो । यस वर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरी २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्