कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली : वर्षाले जनजीवन प्रभावित, खेतमा धानको बिजोग

मोहन बुडाऐर

धनगढी — निरन्तरको वर्षासँगै धनगढी उपमहानगरपालिकाका जिल्लाका विभिन्न भागमा स्थानीय नदीमा आएको बाढीले कटान र डुबाएको छ । भीमदत्त राजमार्गमा आएको पहिरोका कारण यातायात अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । किसानहरुले भित्र्याउने तयारी गरेको धानबालीमा नोक्सान पुगेको छ ।

धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क, वडा नम्बर ३ स्थित विशालनगर, मिलनचोक, वडा नम्बर १ को सन्तोष टोल, बजार मार्ग, शीवनगर, वडा नम्बर ५ को हसनपुर क्षेत्र लगायतका टोलबस्तीमा डुवानले कयौं घरभित्र पानी पसेको छ ।

ढल र नालीको राम्रो व्यवस्था नगर्दा सडकमा निस्केको पानीले धनगढी बजारका सटर तथा पसलभित्रसमेत पसेर ठूलो मात्रामा सामान नष्ट पारेको छ । बसपार्क नजिकै स्थानीय किराना ब्यापारी हरि पौडेलका अनुसार मुख्य बजार मार्गको एलएन चोक लगायत सडक मार्गसमेत जलमग्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रतीक विष्टले अहिलेसम्म उद्वारको आवश्यकता नपरेको बताए । यद्यपि कर्णाली नदीले खतराको घण्टी बजाएकाले आफूहरु अलर्ट बसेको उनको भनाइ छ । टीकापुर आसपासका क्षेत्रमा भने कर्णाली पस्ने खतरा रहेको उनले बताए ।

यस्तै मोहना, खुटिया, पथरिया, कान्द्रा, गौरीगंगा, शिवगंगा लगायत जिल्लाको मध्यक्षेत्र भागबाट बग्ने नदीको सहत बढ्दैगएको छ । कैलालीमा तीन दिनदेखि निरन्तर वर्षा हुँदैआएको छ । स्थानीय नदीमा पानीको सहत बढेमा जिल्लाका दक्षिणपूर्वी क्षेत्रका भजनी, जोसिपुर, लालभोझी, हसुलिया, जानकी नगर लगायत नगर तथा गाउँपालिकाहरुका बस्ती डुवानमा पर्ने खतरा रहेको बताइएको छ ।

हालसम्म मानवीय क्षति नभए पनि जिल्लाका विभिन्न स्थानमा किसानले काटेर भित्र्याउन तयारी गरेको धान बगाएको र डुवाएको छ । उनका अनुसार यस वर्ष रोग किरा पनि नलागेको र समय समयमा पानी पनि परिरहेकोले धानबाली फस्टाएको थियो । भित्र्याउनुअघि पानीमा डुवेको धान लामो समय भन्डार पनि गर्न नसकिने, डुसी किरा लाग्ने , चामल र धानको दाना दागी हुने, धान टुक्रा टुक्रा हुने र राम्रो चामल ननिस्कने बताइन्छ । ७० हजार हेक्टर जमिनमा धान खेती गरिने कैलालीको धानको उत्पादकत्व दर ४.०५ मेट्रिक टन छ । गत वर्ष कैलालीमा ३ लाख २५ हजार ६ सय ९९ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माका अनुसार यस वर्ष ५ देखि ७ प्रतिशत धान उत्पादन बढ्ने देखिए पनि वर्षाले भित्र्याउन बाँकी बालीको गुणस्तरमा हृास आउने देखिएको छ । उनका अनुसार जिल्लामा ५० प्रतिशत धान भित्र्याउन बाँकी नै थियो ।

यसबाहेक भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुरदेखि भासुभीर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रबाट तराई आउने र पहाड जाने यात्रुहरु अलपत्र परेका छन् । प्रकाशित : कार्तिक २, २०७८ १६:१४

प्रतिक्रिया
पठाउनुहोस्

महाकालीमा नौ दशकयताकै ठूलो बाढी

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा मंगलबार नौ दशकयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार मंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका दुवैतर्फका नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । भीमदत्त नगरपालिका ११, १२ र १३ का आधा दर्जन बढी बस्तीहरु डुबेका छन् । यसैगरी दोधारा चाँदनी वडा नं. ८ सुन्दरनगर र वडा नं. १० कुतियाकभर डुबानमा परेका छन् ।

सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेको मापनअनुसार पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको छ ।

शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×