१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बेमौसमी वर्षाले खेतमै भिज्यो धान

भवानी भट्ट, ठाकुरसिंह थारु

कञ्चनपुर, बाँके — आइतबारदेखि परेको अविरल वर्षाका कारण पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क परेको धान भिजेको छ ।काटेर खेतमै सुकाउन राखेको धानमा बढी नोक्सान पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्ट बताउँछन् । उनका अनुसार ७० प्रतिशत धान भित्र्याइसके पनि ३० प्रतिशत खेतमै भिजेको छ ।

कृषकहरुले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । घर आँगनमा थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् । ‘सबै धान भिजेर सखाप भयो,’ भीमदत्त नगरपालिका ११ का राकेश भट्टले भने, ‘खेतमा पानी जमेर धान बगाउनै लागेको छ ।’

कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । ‘अहिले भिजेको धानको बीउ पनि हुदैन,’ डा. विष्टले भने, ‘अझै एक/दुई दिन वर्षा नरोकिए खेतमै उम्रिन सक्छ ।’ उनका अनुसार धेरै धान भिजेका कराण अर्को वर्ष बीउको समेत अभाव हुन सक्ने देखिन्छ ।

यस वर्ष बर्खामा नियमित वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी वर्षाले उत्पादनमा ह्रास आउने देखिन्छ ।


प्रकाशित : कार्तिक १, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्