खड्गजात्राको सौन्दर्य : प्राचीन युद्धकलादेखि आन्द्राको मालासम्म [फोटो फिचर]

केदार शिवाकोटी

चरीकोट — दोलखामा परम्परागत रुपमा विजया दशमीको भोलिपल्ट अर्थात् आज शनिबार खड्ग जात्रा धुमधामका साथ मनाइँदैछ ।

सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा दोलखा बजारमा मनाइएको हो । प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरुमा टोलटोलबाट निस्केर खड्गधारीहरुले दानवहरुसँग युद्ध गरेको अभिनय गर्दै देखाइने खड्गजात्रा विजयादशमीको भोलिपल्ट दिनभर प्रदर्शन गरिने चलन छ ।


आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढ्ने रोचक दृष्य र प्राचीन युद्धको कला कौशल जात्राको मुख्य आकर्षण हो । जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अङ्गरक्षक अघिअघि हुन्छन् । मल्लकालीन समयदेखि चल्दैआएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दसैं टीकाको भोलिपल्ट दिनभर मनाइने परम्परा रहेको स्थानीय ज्ञानेन्द्र प्रधानले बताए ।


त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ । नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको मानिन्छ ।


स्थानीयका अनुसार खड्ग जात्रा मनाउन राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पूजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर बली राजाको मूर्ति बनाई स्थापना गरी बली दिने प्रचलनसमेत छ । त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयउत्सव मनाउने प्रचलन छ ।

युवादेखि वृद्धसम्मको समूहले सगुन ग्रहणपछि खड्ग बोकी दिनभर युद्धकला देखाउँदै सहरका टोलटोलमा नाच्दै परिक्रमा गरिन्छ । साँझमा कुभिन्डो काटेपछि एकदिने खड्ग जात्राको औपचारिक समापन हुन्छ । जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पूजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्वसाधारणलाई टीका लगाइदिने प्रचलनसमेत रहिआएको छ । यस्तै जात्रा समामपनसँगै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।


प्रकाशित : आश्विन ३०, २०७८ १५:५०

प्रतिक्रिया
पठाउनुहोस्