कैदीबन्दीलाई कारागारमै टीका र जमरा [फोटो फिचर]

आश गुरुङ

लमजुङ — दसैंको टीकाको दिन बिहानसम्म कैदीबन्दीका आफ्ना आफन्त को आउने हुन् या होइनन् भन्ने अत्तोपत्तो थिएन । बिहान जव १० बजेर २ मिनेट गयो, त्यसपछि लमजुङ कारागारका कैदीबन्दीलाई जेष्ठ कैदी ६१ वर्षीय रेपबहादुर थापाले टीका र जमरा लगाइदिन थाले । यो क्रम केही बेर चल्यो ।


उनले कारागारमा आफूसँगै बस्ने कैदीबन्दीलाई टीका लगाइदिँदा आफन्त कोही आइपुगेका थिएनन् । केही बेरमा कैदीबन्दीका आफन्त कोही टीका थाप्न आए, कोही टीका लगाइदिन । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले हर्षोल्लासका साथ टीका र जमरा लगाए ।

कैदीबन्दी कतिपयले आफन्तबाट कारागारको मुल गेटबाहिर टीका र जमरा लगाए । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका परिवार र आफन्तलाई टीका र जमरा लगाउने कार्यको व्यवस्थापन गरेको थियो । कारागारमा शुक्रबार बिहानैबाट भीड लागेको थियो । आफन्त आफन्तलाई टीका लगाइदिन काठमाडौंबाट समेत आएका थिए ।

कारागार प्रशासनले टीका लगाउन आउनेका लागि शुक्रबार टीकाको साइत १० बजेर २ मिनेट जाँदादेखि साँझ ५ बजेसम्मको समय मिलाएको थियो । टाढा–टाढा बाट आउनेका लागि शनिबारदेखि पूर्णिमाको दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म टीका र जमरा लगाउने व्यवस्थापन गरेको कारागारका जेलर जगदिश मिश्रले बताए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले जिल्लाभित्रका कैदीबन्दीका परिवार र आफन्तले टीकाकै दिन शुक्रबार टीका र जमरा एकआपसमा लगाएको बताए । जिल्ला बाहिरबाट शनिबारदेखि पूर्णिमासम्म आउने भएकाले त्यही अनुसार सुरक्षा व्यवस्थापन गरिएको उनले बताए । उनका अनुसार घर जान नपाएका प्रहरीलाई आफैंले टीका लगाइदिएका छन् । ३५ जना क्षमताको लमजुङ जिल्ला कारगारमा हाल ९४ जना पुरुष र १० जना महिला गरी १ सय ४ जना कैदीबन्दी छन् ।

प्रकाशित : आश्विन ३०, २०७८ ००:२८

प्रतिक्रिया
पठाउनुहोस्