२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

न्यायको खोजीमा बगिरहेका आँसु [फोटो फिचर]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — देशभर दसैंको रमझम छ । अधिकांश नेपालीहरु टीका जमरा लगाएर मिठो खाँदै रमाइलो गरिरहेका छन् । नेपालगन्जकी रुबी खान भने विजया दशमीकै दिन काठमाडौंको मुटु मानिने माइतीघर मण्डलामा न्यायको खोजीमा आमरण अनसन बसिरहेकी छन् । प्रहरी हिरासतमै आमरण अनसन बस्न थालेकी रुबीले रिहाइपछि आठौं दिन पनि आमरण अनसन जारी राखेकी छन् ।

उनीसहित गत साता बाँकेदेखि २० दिन हिँडेर आएकाहरु माइतीघरमै धर्ना बसिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि बाँकेस्थित हिरासतमा गुपचुप रुपमा राखिएकी खानलाई प्रहरीले बिहीबार रिहा गरेको थियो । प्रहरीको रिहाइपछि खान माइतीघर पुगेर आमरण अनसन बस्न थालेकी हुन् ।

प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएपछि उनी बिहीबार नै छुटेकी हुन् ।

बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगन्जबाट आएको टोलीको नेतृत्व गरेकी रुबी खानलाई जिल्ला प्रहरी कार्यालयको पत्रबमोजिम भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी गत २३ गते नेपालगन्ज पठाएको थियो ।

तर, अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटको सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको हो ।

प्रकाशित : आश्विन २९, २०७८ १६:२८

प्रतिक्रिया
पठाउनुहोस्