तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन दसैंको नवमीको दिन मात्र भक्तजनका लागि खुला गरिन्छ ।

गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताए । बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबारको मूलढोकासम्म पुगेको छ । बिहीबार लाममा बस्ने सबैलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।


प्रकाशित : आश्विन २८, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्