कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नवरात्रमा पाल्पाको भैरवस्थानमा भक्तजनको भीड

माधव अर्याल

पाल्पा — अघिल्लो वर्ष दसैंमा मन्दिर जान नपाएहरुका कारण पनि यसवर्ष पाल्पाका मन्दिर, कोतघरलगायत देवीका मन्दिरमा भीड बढेको छ । घटस्थापनादेखि पाल्पाको भैरवस्थान मन्दिरमा दैनिक सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन् । हिन्दू धर्मालम्बीहरुको आस्थाको धरोहरका रुपमा यसलाई चिनिन्छ । आफ्नो मनोकांक्षा पूरा होस् र पूरा भएपछि रोट, बलि, पञ्चबलि चढाउने गरिएको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए ।

अरु बेलाभन्दा दसैंमा भैरवस्थानमा बढी भीड लाग्ने गरेको छ । योबाहेक पनि वैशाख र मंसिर महिनामा दर्शानार्थीको भीड लाग्छ । पश्चिम नेपालकै शत्तिपीठका रुपमा भैरवस्थानलाई लिइने गरिन्छ । मन्दिरमा दर्शनका लागि नेपालमा धेरै जिल्लाबाट आउने गर्दछन् । दर्शनार्थीको सुविधाका लागि रोट पकाउने, बलिका लागि बोका, कुखुरासमेत व्यवस्था छ ।

मन्दिरमा मानापाथीका रोट पकाउन लगाएर चढाउने गरिन्छ । मन्दिर परिसरमा सुन्दर बगैँचा पनि छ । मन्दिरको ४ सय वर्ष पुरानो इतिहास छ । भैरवस्थान मन्दिर तानसेनदेखि ९ किलोमिटरको दूरीमा रहेको छ ।


प्रकाशित : आश्विन २८, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्