पर्यटक तान्दै खैराबाङ मन्दिर [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसि‌ंह राठाैर

सल्यान — सल्यानको खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्त्वपूर्ण स्थल हो । शारदा नगरपालिका-११ मा अवस्थित खैराबाङ मन्दिर सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवी बायाँस्तन पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला पनि १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इर्स्या) त्याग्न देवीसँग माग गरिन्थ्यो ।

खैराबाङमा बाह्रै महिना पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.स. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरिएको प्रमाण फेला परेका छन् । धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बागलुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत दर्शन गर्न भक्तजनहरु आउने गर्दछन् ।

खैराबाङ भुवनेश्वरी मन्दिर समुद्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिणमा पर्दछ । मन्दिरमा पुग्नलाई चारैचिरबाट कच्ची रिङरोड बनाइएको छ । खैराबाङ पुग्न राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट ३० मिनेटको सवारी यात्रा तथा २ घण्टाको पैदल यात्रामार्फत सकिन्छ ।त्यस्तै खैराबाङ मन्दिर पुग्नलाई सदरमुकाम खलंगाबाट साहुटोल, दुलधारा पोखरा, मार्के, मदना, हिवल्चा हुँदै पुग्न सकिन्छ । यो सडकमा सल्यानको पश्चिम क्षेत्रबाट आउनेहरुलाई सहज हुन्छ भने राप्ती राजमार्ग प्रयोग गर्नेहरुलाई श्रीनगरबाट सहज हुन्छ । यहाँ विद्युत् सेवा उपलब्ध छ, मन्दिर २७ रोपनी जग्गामा फैलिएको छ । मन्दिर संरक्षण र सम्वर्द्धनका लागि गुठीको पनि व्यवस्था गरिएको छ । भक्तजनहरुको धेरै उपस्थिति हुने भएकाले बस्नका लागि सानो धर्मशालासमेत बनाइएको छ । बाह्रै महिना चढाइने बोका बलिका टाउका बेचेर वर्षेनी १८ देखि २० लाख आम्दानी हुने गरेको छ ।

यस मन्दिरमा पित्तलको नयाँ भगवतीको मूर्तिसमेत स्थापना गरिएको छ । २०३४ मा यस्को पुरानो मूर्ती चोरी भएपछि २०७५ साल मंसिर महिनामा स्थापना गरिएको मन्दिरमा मूर्ति भए पनि पहिलेकै मूर्तिको स्वरुप झल्को दिन नयाँ मूर्ति स्थापना गरिएको हो । मूर्तिसँगै ठूल्ठूला दुइटा बाघ पनि राखिएको छ ।


प्रकाशित : आश्विन २७, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्