टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकोले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो । कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरुलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो ।


प्रकाशित : आश्विन २६, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

मुगु बस दुर्घटनाका घाइतेमध्ये नेपालगन्जमा ४ को मृत्यु, ३ को सनाखत

ठाकुरसिंह थारु

नेपालगन्ज — मुगु बस दुर्घटनामा परी घाइते भई उपचारका लागि नेपालगन्ज ल्याइएका १७ जनामध्ये ४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही, वडा नं ८ का टोपबहादुर विष्ट र एक मृतकको पहिचान खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानका अनुसार टोपबहादुरको शिक्षण अस्पताल कोहलपुरमा र ३ जनाको शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । घाइतेहरुलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगन्ज ल्याइएको हो ।

प्रकाशित : आश्विन २६, २०७८ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×