विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीबाट ‘प्लेयर अफ द मन्थ’ चुनिने पहिलो नेपाली खेलाडी
काठमाडौँ — सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी चुनेको छ । विश्व क्रिकेटको सर्वोच्च संस्थाबाट ‘प्लेयर अफ द मन्थ’ चुनिने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । अप्रिलमा नेपाली ब्याटर कुशल भुर्तेल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परे पनि पाकिस्तानका बाबर आजमभन्दा पछाडि परेका थिए ।
सन्दीपले सेप्टेम्बरमा खेलेका ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७.३८ को औसत र प्रतिओभर ३.१७ रनमात्र खर्चेर कुल १८ विकेट लिएका थिए । ओमान भ्रमणमा उनले पपुवा न्युगिनीसँगको दुई खेलको शृंखलामै १० विकेट लिएका थिए । त्यसको दोस्रो खेलमा उनले ५.१ ओभरमा ११ रन खर्चेर
६ विकेट लिँदै नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यसअघि सन्दीपले नै २०२० को फेब्रुअरीमा अमेरिका विरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए, जुन यसअघि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन थियो ।
पपुवा न्युगिनीसँगको पहिलो खेलमा पनि सन्दीपले ४ विकेट लिएका थिए । उनले त्यसपछि आईसीसी विश्वकप लिग २ को ४ खेलमा ८ विकेट लिएका थिए । उनको यो प्रदर्शनमा नेपालले अमेरिका र ओमानविरुद्धको १–१ खेलमा विजय हात पारेको थियो । ओमानसँग उनले १८ रन खर्चेर ४ विकेट लिएका थिए ।
सन्दीप बंगलादेशका देब्रेहाते स्पिनर नसुम अहमद र अमेरिकी ब्याटर अमेरिकाका जसकरण मलहोत्रालाई उछिन्दै महिनाको उत्कृष्ट खेलाडी भएका हुन् । जसकरणले पपुवा न्युगिनीविरुद्ध ओमानमै अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै सो खेलमा कुल अविजित १७३ रन बनाएका थिए ।
‘साँच्चै भन्ने हो भने मैले सोचेकै थिइनँ । म साथीसँग गाडीमा भक्तपुर गइरहेको थिएँ, उसैले अवार्ड जितेको खबर सुनाए,’ सन्दीपले कान्तिपुरसँग भने, ‘विश्वका उत्कृष्ट खेलाडीको सूचीमा आफ्नो नाम पाउनु ठूलो हो ।’ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा सर्वाधिक ४१ विकेट लिइसकेका लेग स्पिनर उनले भने, ‘नेपाली खेलाडीका लागि यसले ठूलो अर्थ राख्छ । हामी थोरै मात्र क्रिकेट खेल्न पाउछौं । क्रिकेट थोरै सिजनमा खेल्न पाए पनि आईसीसीको तर्फबाट यस्तो सम्मान पाइन्छ भने भविष्यका लागि निकै राम्रो हुनेछ र अरू खेलाडीलाई पनि थप ऊर्जा दिनेछ ।’
सन्दीपबाहेक महिलातर्फ इंग्ल्यान्डकी कप्तान हिदर नाइट आफ्नै देशकी चार्ली डिन र दक्षिण अफ्रिकाकी लिजेल लीलाई उछिन्दै महिनाको उत्कृष्ट खेलाडीमा चुनिएकी छन् ।
प्रकाशित : आश्विन २६, २०७८ ०८:१२