मोतीपुर औद्योगिक क्षेत्रमा ३ सय सुरक्षाकर्मी परिचालन [तस्बिरहरू]

अमृता अनमोल

बुटवल — बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका लागि जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको हो ।बुटवल र तिलोत्तमा क्षेत्रबाट औद्योगिक क्षेत्र पस्ने चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् । रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले औद्योगिक क्षेत्रको सुरक्षाका लागि रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीको दंगा टोली खटाइएको बताए । 

आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ । बुटवल उपमहानगरपालिकाको १७ र १८ नम्बर वडामा रुपन्देही प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । 

घटनास्थलमा ठूलो संख्यामा चप्पल, जुत्ता, ढुंगा र फुटेका सीसा देखिन्थे । अघिल्लो दिनसम्म बनेका टहराका अवशेष बाँकी थिए । स्थानीयले सोमबार बिहान जग्गा अतिक्रमणकारीहरू पुन आउन थालेको सूचना दिएका थिए । त्यसपछि प्रहरीले सडक क्षेत्रमा समेत निगरानी  बढाएको छ । जग्गा कब्जा गर्न आउने व्यक्ति लुक्ने आशंकामा धेरै स्थानीय ढोका लगाएर बसेका छन् । 

मोतीपुर औद्योगिक क्षेत्र कब्जा गर्न बसेको समूह र सुरक्षाकर्मीबीच आइतबार दिउँसो झडप भएको थियो । झडपमा परी ४ जना जग्गा अतिक्रमणका लागि आएका व्यक्तिको मृत्यु भएको छ । ५१ सुरक्षाकर्मीका ५१ सहित ७३ जना घाइते छन् । त्यसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : आश्विन २५, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्